अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन शुरु



काठमाडौं : अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएसँगै कोरोनाविरुद्धको खोपको पहिलो अभियान शुरु गरिएको हो ।

अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप लगाउन शुरु गरिएको जनाइएको छ । अधिकारीहरुले पहिलो चरणमा खोपको तीस लाख डोज लगाइने बताएका छन् ।

यसका लागि देशका विभिन्न सय स्थानमा रहेका खोप केन्द्रहरुमा खोप पु-याइसकिएको जनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।
फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर, उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्नेछ ।

अमेरिकाले पहिलो चरणमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप लगाउने बताएको छ ।

कोरोना महामारी शुरु भएको एक वर्ष पूरा हुनै लाग्दा विभिन्न मुलुकहरुमा भाइरसविरुद्धको खोप निर्माण र लगाउन शुरु भएको छ । गत हप्ता मात्रै बेलायतमा पनि खोप लगाउन शुरु गरिएको थियो ।

प्रकाशित : मसिर २९, २०७७

प्रतिक्रिया दिनुहोस्