विराटनगरमा सरकारविरुद्ध काँग्रेसको मोटरसाइकल र्‍याली



विराटनगर : नेपाली काँग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा काँग्रेसले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन शुरु गरेको छ ।

पूर्वघोषित कार्यक्रमअन्तर्गत सोमबार मध्याह्न काँग्रेस महामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा विराटनगरमा प्रदर्शन गरिएको हो ।

विराटनगरस्थित तीनपैनि चोकबाट निस्किएको मोटरसाइकल र्‍यालीसहितको प्रदर्शनले विराटनगर बजार परिक्रमा गरेको छ । गलत मार्गमा हिँडेकाले सरकारलाई सजग गराउन र नागरिकलाई सचेत हुन आग्रह गर्दै सोमबार देशभर प्रदर्शन गरिने काँग्रेसले जनाएको छ ।

भ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएका कारण काँग्रेस सडकमा ओर्लनु परेको महामन्त्री डा.शशांक कोइरालाले बताए ।

प्रकाशित : मंसिर २९, २०७७

प्रतिक्रिया दिनुहोस्