सरकार र मिल मालिकका कारण उखु किसानले दुःख पाए : पौडेल



काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र उखु मिल सञ्चालकबीचको मिलेमतो र लापरबाहीका कारण उखु किसानले दुःख पाएको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेता पौडेलले किसानहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुको माग पूरा गरी जतिसक्दो चाँडो राहत दिलाउन सरकारसँग आग्रह गरेका छन् ।

‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन्,’ उनले ट्वीट गरेका छन्–‘मिल मालिक र सरकारमा रहेकाहरुको मिलीभगत र लापरबाहीको शिकार बनेका किसानहरुप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आह्वान गर्दछु ।’

गत वर्ष पुसमा सरकारसँग भएको पाँच बुँदे सहमति कार्यान्वयको गर्न र बक्यौता रकम भुक्तानीको माग गर्दै उखु किसानले आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

२०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासीसहितका २० हजारभन्दा धेरै किसानले बेचेको उखुको मूल्य पाएका छैनन् । उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार ८९ करोडभन्दा धेरै रकम ७ चिनी उद्योगीले किसानहरूलाई भुक्तानी गरेका छैनन् ।

प्रकाशित : मंसिर २९, २०७७

प्रतिक्रिया दिनुहोस्