कांग्रेसको सरकारविरोधी आन्दोलन ७७ वटै जिल्लामा सुरु



काठमाडौंः नेपाली कांग्रेसको सरकारविरोधी आन्दोलन ७७ वटै जिल्लामा सुरु भएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार देशका सबैजसो जिल्लामा प्रदर्शन सुरू भएको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले सबैजसो जिल्लामा प्रदर्शन सुरु भइसकेको बताएका छन् ।

काठमाडौंका सभापति कृष्ण (सबुज) बानियाँले बिरोध प्रदर्शनको लागि पाँच स्थानबाट प्रदर्शन सुरु भई रत्नपार्कमा जम्मा भएको जानकारी दिए ।

बानियाँकानुसार निर्वाचन क्षेत्र नं.१ को जुलुश भृकुटीमण्डप, क्षेत्र नं.२, ३ र ४ को जुलुश पुतलीसडक चोकमा, क्षेत्र नं. ५, ६ र ७ को जुलुश लैनचौर, क्षेत्र नं. ८ को वसन्तपुर र क्षेत्र नं. ९ र १० को जुलुश शहीदगेटबाट रत्नपार्कको हुँदै शान्ति बाटिकामा भेला सुरु भएको छ ।

जिल्ला पार्टी समितिको निर्णयअनुसार तोकिएका स्थानमा जम्मा भई विरोध प्रदर्शन सुरु भएको नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य टेकराज अवस्थीले जनाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले समेधन गर्ने वागमति प्रदेशको राजधानी मकवानपुरको हेटौडामा पनि विरोधसभा सुरु भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।

महामन्त्रि डा.शशांक कोइरालाले सम्बोधन गर्ने प्रदेश १ को मोरङस्थित विराटनगरमा पनि विरोधसभा सुरु भएको जिल्ला सभापति डिकबहादुर लिम्बुले बताएका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्ने प्रदेश नम्बर २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाममा पनि विरोधसभा सुरु भइसकेको जिल्ला सभापति महेशसंकर गिरीले जानकारी दिए ।

यसैगरी नेता अर्जुनरसिंह केसीले सम्बोधन गर्ने गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरामा पनि दशौं हजारको सहभागितामा विरोधसभा सुरु भएको सभापति कृष्ण केसीले जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा पनि विरोधसभा सुरु नेपाली कांग्रेस कैलालीका नेता नृप सुनारले जनाएका छन् ।

प्रदेश नम्बर ५ को प्रमुख व्यापारिक केन्द्र बाँकेको नेपालगञ्ज, कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा पनि विरोधसभा सुरु भइसको छ ।

प्रतिक्रिया दिनुहोस्