कम्युनिष्ट आएपछि रून पनि पाइन्न भनेको कुरा सत्य सावितः देउवा



काठमाडौं : कम्युनिष्ट आएपछि रून पाइँदैन भनेर आफूले पहिले भनेको कुरा अहिले सत्य सावित भएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

काँग्रेसको देशव्यापी जनप्रर्दशनको क्रममा मकवानपुरको हेटौंडामा भएको सभामा बोल्दै सभापति देउवाले भने, ‘मैले भनेको थिएँ, कम्युनिष्टले जितेपछि रून पाइन्न । आज यो सत्य पुष्टि भएको छ ।’ देउवाले माओवादी र एमाले एकता भएसँगै कम्युनिष्टको सरकार आउँदा कसैले रुन पनि पाउँदैन भनेर आफूले भनेको भने, ‘मैले कम्युनिष्ट पार्टी एक हुँदा भनेको थिएँ । कम्युनिष्ट जित्दा रुन पनि पाइने छैन । किन रोइस् भनेर आउन बेर छैन ।’

उनले सर्वसत्तावादका लागि आफूहरु नलडेको स्पष्ट पार्दै जनता कम्युनिष्ट सरकारबाट वाक्क भएको बताए । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ भन्ने कुरा सुनिन थालेको उनले दाबी गरे ।

‘राजा आऊ देश बचाऊ भन्दै हिँडिरहेका छन् । किन यो भन्दै हिँडिरहेका छन्?,’ देउवाले प्रश्न गर्दै भने, ‘ओलीकै कारणले राजा आउ देश बचाउ भनेर कराइरहेका छन् ।’ राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको दाबी गर्दै उनले भने, ‘ओली नै पूर्व राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’

देउवाले जनतालाई सडकमा भेला गरेर दुःख दिने उद्देश्य नभएको बताउँदै बाध्य भएर विरोध सभा गर्नु परेको उल्लेख गरे ।

ओलीले एक दलीय सर्वसत्तावादी लागू गरेको र कम्युनिष्ट शासन गरेको उनको आरोप छ । देउवाले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न असफल भएको भन्दै भ्रष्टाचार र घुसमा भुलेको पनि बताए ।

‘देशमा एकतर्फी, एकलौटी शासन, बोल्ने लेख्ने अधिकार बन्द गर्न खोजिएको छ,’ उनले भने, ‘सर्वसत्तावादी सरकार ल्याउन हामीले यो व्यवस्था ल्याएका होइनौँ । कोरोनाको महामारीको बेलामा जनता आज वाक्क भइसकेका छन् । देशभर आन्दोलन गर्नुपर्ने बाध्यता छ ।’ देउवाले अदालतलाई नै कम्युनिष्टको गण बनाउन खोजिरहेको पनि आरोप लगाए ।

यता चितवनमा आयोजित सरकारविरुद्धको सभामा बोल्दै पूर्व सहमहामन्त्री तथा केन्द्रीय सदस्य रामशरण महतले नेकपाका कारण मुलुकमा विकृति भित्रिएको बताए । महतले संसारबाट बिदा भइसकेको कम्युनिस्टहरूले नेपालमा जितेर विकृति, विसङ्गति ल्याएको उल्लेख गरे । उनले कम्युनिस्ट मृत्यु भइसकेको दर्शन भएको बताउँदै चीन, उत्तर कोरियाबाहेक अन्य मुलुकमा कम्युनिस्टहरूले नजितेको बताए ।

डा. महतले काङ्ग्रेसको नीति, सिद्धान्त, विचार सर्वस्वीकृत बनेको चर्चा गर्दै त्यसलाई एकदलीय शासन चाहने कम्युनिस्ट र निर्दलीय व्यवस्था चाहनेहरूले पनि स्वीकार गरेको बताए ।

प्रवक्ता विश्वप्रकाश शर्माले अबको निर्वाचनमा बहुमतसहित सरकारमा जाने बताए । हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्न पुगेका शर्माले काङ्ग्रेस सकियो भन्नेहरूलाई जवाफ दिन पनि सडक प्रदर्शन गर्नुपरेको बताए ।

यस्तै, कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेकपाको सरकारबाट लोकतन्त्र र गणतन्त्र नै धरापमा परेको आरोप लगाए ।

बागलुङमा भएको विरोध -याली र सभामा बोल्दै नेता केसीले सरकारले भस्मासुर बनेर देश र लोकतन्त्रको अस्तित्व बर्बादीमा धकेलेको बताए । नेता केसीले भने, ‘जनताको मत लिएर लोकतान्त्रिक पद्धति सिध्याउने काम सरकार र नेकपाका नेताहरुले गरेका छन् ।’

तनहुँमा भएको घटनामा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अभद्र व्यवहारले कांग्रेस जाग्ने एउटा निहुँ बनेको भन्दै केसीले यसअघिका दर्जनबढी घटनामा कांग्रेस कार्यकर्तामाथि सरकारी आक्रमण भएको पनि उनले आरोप लगाए ।

प्रकाशित : मंसिर २९, २०७७

प्रतिक्रिया दिनुहोस्