अाजदेखि ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम सुरु



काठमाडौँ : नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आइतबारदेखि देशभर सञ्चालन हुने भएको छ ।

 

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा उक्त अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन हुन लागेको हो । 

 

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

 

अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख छ ।

 

यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायत कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन । अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको प्रहरी प्रवक्ता सुवेदीको भनाइ छ ।

 

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास नेपाल प्रहरीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्