भीम रावलले बलिको बोको बनाए, अब विद्रोह गर्छु : दिलबहादुर सिंह



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ९ सहित ७७ वटै जिल्लामा जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ। पार्टीले बझाङका प्रदेश कमिटी सदस्य र तत्कालिन नेकपा एमाले जिल्ला अध्यक्ष दिलबहादुर सिंहलाई घटुवा गर्दै जिल्ला सचिव र तत्कालिन माओवादी जिल्ला कमिटीसम्मको पदमा नभएका मिनबहादुर कुवँरलाई बझाङ जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ। तर, जिल्ला सचिव बनाइएका दिलबहादुरले भने आफू सचिव पदमा नबस्ने बताएका छन्। यसविषयमा सचिव दिलबहादुर सिंहसँग सहकर्मी तेज बोहराले गरेको कुराकानी :

नेताज्यू बधाई छ, जिल्ला सचिवको जिम्मेवारी पाउनुभएछ नी ?

हैन बधाई सधाई केही दिनु पर्दैन। त्यो मेरो स्विकार्य पद हैन्। 

पार्टीले दिएको जिम्मेवारीप्रति तपाई सन्तुष्ट हुनुहुन्न ? 

विधी र पद्धतिलाई पार्टीले कार्यान्वयन गरेन, नेता र कार्यक्रताको हैसियत पार्टीले बुझेन। त्यसमा चित्त बुझाउने कि नबुझाउने भन्ने कुरा आफ्नो ठाउँमा रहन्छ। 

त्यसो भए सचिव पदमा सन्तुष्ट हुनुहुन्छ ? 

४५ वर्ष अघि राजनीति गर्नेलाई सचिवमा धकेल्ने प्रवृतिमा कसरी सन्तुष्ट हुन सकिन्छ ? 

यहाँको अहिलेसम्मको राजनीतिक यात्रा र पार्टीप्रतिको योगदानबारे छोटोमा बताइदिनुस्। 

मेरो राजनीतिक सुरुवात आठ कक्षा पढ्दा २०३३ सालदेखि हो। त्यसपछि २०४५ सालदेखि तत्कालिन नेकपा एमालेमा आवद्ध भएर काम गर्दै जाँदा २०४७ सालमा जिल्ला कमिटी सचिवालय सदस्य भए। त्यसपछि जिल्ला कमिटीको विभिन्न पदमा बसेर काम गर्दै आउँदा वि.सं. २०५४ सालमा जिल्ला अध्यक्ष भएको मान्छे म।

एकताअघि मैले तत्कालिन एमाले बझाङ जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेको थिए। मेरो व्यक्तिगत र पारिवारिक समस्याको कुरा गर्ने हो भने म एउटा गरिब परिवारबाट हुर्केको मान्छे। आफ्नो परिवारभन्दा पनि पार्टीका लागि समय दिए। आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाए। निरन्तर राजनीतिक संर्घषमा पार्टीप्रति लागिरहे। यो देशका जुनसुकै पार्टी हेर्ने हो भने धनीमानिका लागि मात्रै राजनीति र पद देखियो। 

प्रदेशसभा चुनावको टिकटमा पनि पहिलो नम्बरमा सिफारिस गरेर पठाउँदा तपाईलाई पाखा लगाईयो, यो विषयलाई कुन रुपमा लिनुभएको छ ?

बझाङको समग्र अवस्था भन्ने हो भने मैले टिकट पाएको भए कांग्रेसको उम्मेद्धारले ५ हजार मत पाउँथे, म २५ हजार मत पाउँथे तर, टिकट नपाउनुको कारण मत भन्दा पनि आफू निकट धनीमानी र पैसावाला ठूला हुन भन्ने मानसिकताले गर्दा हो। त्यसैले त्यही किसिमको वातावरण सिर्जना गरेर अरुलाई टिकट दिए। तैपनि हामीले  आफ्नै उमेद्धारलाई जिताएर पठायौं। उनले पाउनुपर्ने मतको आधा मत पाएर जिते। 

तपाई भीम रावल पक्षमा भए पनि जिम्मेवारीबाट पछाडि पारिएको भन्ने सुनिन्छ नि ? 

हैन, म ९ औं महाधिवेशनको प्रतिनिधि हो। उक्त महाधिवेशनमा म प्रष्ट ढंगले भीम रावल कमरेडकै समूहमा थिए। उहाँलाई नै भोट हाल्ने र म उहाँलाई नै भोट दिनका लागि अरुलाई प्रेरित गराउने मान्छे हो। तर, ममाथि अहिले रावलले पक्षपात पूर्ण व्यवहार देखाए। म प्रदेश कमिटिको सदस्य भइसकेको थिए। अहिले आएर भीम कमरेडले बलीको बोको बनाए। मलाई अध्यक्ष चाहिएको पनि हैन, सचिव चाहिएको पनि हैन। मैले त्यो ढंगले त्यो ठाउँको माग पनि गरेको थिइन।

अहिले एकता पक्रिया अघि बढ्दै जाँदा बझाङ जिल्लाको नेकपा नेतृत्वको लागी जिल्ला कमिटीसम्म कुनै पदमा नभएको प्रदेश कार्यालय सचिवलाई टपक्क टिपेर अध्यक्ष बनाइयो। मेरो चाहना नहुँदा पनि सचिवको जिम्मेवारी दिए। त्यो कुरामा मेरो एकरती पनि सहमति छैन्। विधिमा वेथिति भयो बझाङको हकमा, यो विधी पूर्वक भएन। केन्द्रीय नेताहरूले जिल्ला भागबन्डा गर्ने सवालमा कनिष्ट र बरिष्टको महत्व नराखी एकलौटी ढंगले गरेको निर्णयमा मेरो पूर्ण असहमति छ। 

बझाङमा पार्टीले तत्कालिन एमालेलाई पटकपटक पाखा लगाउँदै आएकोप्रति त्यहाँका नेता कार्यक्रर्ताको धारणा के छ ? 

अकस्मात, नेकपाले एकलौटी ढंगले बझाङमा एकपछि अर्को अपहेलित क्रियाकलाप गरिरहेको छ। यसप्रति ९५ प्रतिशत नेता कार्यक्रता र जनताको असन्तुष्टी छ। यो निर्णय सरासर अर्कालाई अपहेलित गर्ने किसिमले गरिएको निणर्य हो। यसलाई हामी सहज ढंगले स्विकार गर्दैनौ भन्ने प्रतिक्रिया आएको छ। नेता कार्यक्रर्ताको यसप्रति सर्मथन छैन्। कार्यकर्ता एकदम आक्रोेसित छन्। मैले भनेको छु म त्यो सचिव पदमा बस्दिन, म सफत पनि खादिन, नेकपा बझाङ सचिव पद मेरा लागी अस्विकार्य छ।

नेकपाप्रति तपाईको अगामी जिम्मेवारी के रहन्छ ? 

मेरो जिम्मेवारी भनेको त म प्रदेश कमिटी सदस्य छु। मेरो मर्यादाक्रम त्यही कायम हुन्छ। एकतह माथिल्लो पदबाट तल झरेर सामान्य कार्यकर्ताको नेतृत्वमा बस्न नैतिकताले पनि सुहाउँदैन्। म बस्न पनि बस्दिन। जिल्लाको नेतृत्व, पहिचान र मुल्यांकन नगरी जिम्मेवारी दिने काम भएकाले त्यसको परिणाम आगामी जिल्ला अधिवेशनले देखाउँछ। देखाउँछ। कार्यकर्ता र जनताका बीचमा दिलबहादुर सिहं को हो भन्ने कुरा पछि देखिन्छ। अहिले तत्काल म यो गर्छु भन्ने कुरा रहदैन्। 

प्रतिक्रिया दिनुहोस्