बालुवाटारमा ओली पक्षीय नेताहरुको भेला, प्रचण्ड–नेपाल पक्ष पनि छलफलमा



काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षीय नेताहरुको भेला भएको छ ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधामन्त्री केपी शर्मा ओली छलफलमा जुटेका छन् ।

अध्यादेश जारी गरेपछि विपक्षी दल र पार्टी भित्रैबाट विरोधका स्वर सुनिरहँदा ओली बालुवाटारमा आफू निकट नेताहरुसँग छलफलमा जुटेका हुन् । बैठकमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्बाङका साथै ओली गुटका नेताहरु बालुवाटार पुगेका छन् ।

यस्तै, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष समेत छलफलमा छन् । यस्तो अवस्थामा थप रणनीति बनाउन बालुवाटारमा ओली गुट भेलामा जुटेका हुन् ।

प्रचण्डको निवासमा खुमलटारमा नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छलफलमा रहेका छन्।

ओलीले आजै साँझ पाँच बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

यता विपक्षी नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गरिसकेको छ । पार्टीका सभापति शेरबहादुर देउवा अध्यादेश जारी भएसँगै बैठकमा नजाने भएका हुन् । यस्तै, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट प्रतिनिधिसभा सभामुख अग्नीप्रसाद सापकोटा समेत बैठकमा उपस्थित हुने सम्भावना छैन । बिहान बोलाइएको परिषद्को बैठकमा पनि सापकोटा अनुपस्थित भएका थिए ।

परिषद ऐनमा अध्यक्ष र चार सदस्य उपस्थित भएपछि मात्रै परिषद बैठकको गणपुरक संख्या पुग्ने कानुनी व्यवस्था छ ।

सभामुख अनुपस्थित भएपछि परिषद बैठक बस्नै नसक्ने परिस्थिति उत्पन्न भएपछि प्रधानमन्त्री ओलीले मंगलबार आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक डाकेर अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

यता अध्यादेश जारी भएपछि नेकपाका नेता जनार्दन शर्माले ओली सरकारले सत्ताको स्वार्थमा अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

समाजिक सञ्जाल ट्वीटमार्फत नेता शर्माले पार्टीमा विवाद देखिएपनि त्यसलाई छलफल र सहमतिको प्रक्रियाबाट सहज ढंगले समाधान गर्न सकिएपनि सरकारले असहज प्रक्रियाको बाटो रोजेको बताएका हुन् ।

यसैगरी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सरकारको कदमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमको संघा दिँदै ओलीले पार्टी कमिटीको बैठकमा जवाफ दिनुपर्ने बताए ।

‘यो प्रधानमन्त्रीको स्वेच्छाचारी कदम हो । पार्टीको बैठक भइरहेको बेला अध्यादेश ल्याउनु अत्यन्त आपत्तीजनक छ। फिर्ता हुनुपर्छ,’ उनले भने, ‘संविधान बनाउनुपर्ने बेलामा संवैधानिक परिषदको निश्पक्षता हुनुपर्छ भनेका थियौं। त्यसको नेतृत्व मदन भण्डारी कामरेडले गर्नुभएको थियो। उहाँले (प्रधानमन्त्री ओली) मदन भण्डारीमाथि प्रहार गर्नुभयो।’

त्यस्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको उपहास गरेको आरोप लगाएका छन् ।

संवैधानिक परिषद सम्बन्धि अध्यादेश एकाएक ल्याएर प्रधानमन्त्री ओलीले ओलीले ठीक नगरेको प्रचण्डको टिप्पणी छ । ‘एकाएक अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो । सबै पार्टीले संसदको अधिवेशन मागिरहेका बेला ओलीले अध्यादेश ल्याउनु आपत्तिजनक छ,’ प्रचण्डलाई उदृत गर्दै स्रोतले भन्यो, ‘उहाँले यसलाई दुखद् भन्नुभएको छ।

प्रकाशित : मंसिर ३०, २०७७

प्रतिक्रिया दिनुहोस्