प्रधानमन्त्री अाेली र राजपा अध्यक्ष मण्डलका सदस्य ठाकुरबीच छलफल हुँदै



काठमाडाैं : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसँग आइतबार (आज) भेटवार्ता गर्ने भएका छन् ।

 

राजपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संयोजक ठाकुरसँग समसामयिक राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा छलफल गर्नेछन् । राजपालाई सरकारमा ल्याउने विषयमा पनि भेटका क्रममा छलफल हुने बताइएको छ ।

 

पार्टीले संविधान संशोधन र फौजदारी अभियोग लगाइएका निर्वाचित सांसद रेशम चौधरीलाई सपथ गराउनुपर्ने माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको छ ।

 

ओली नेतृत्वको सरकार गठन हुँदा राजपाले सरकारलाई समर्थन गरेको थियो । सो समर्थन संविधान संशोधनलगायतका माग पूरा गर्ने सर्तमा दिइएको थियो । तर, त्यसो नगरिएकाले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने गरी प्रधानमन्त्री ओलीलाई एक अल्टिमेटम बुझाएको थियो । पार्टीले बुझाएको अल्टिमेटमअनुसार सरकारले छठ अघि संविधान संशोधन गर्नुपर्ने हो ।

 

पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले सरकारले संविधान संशोधन लगायतका माग पूरा नगरे पार्टीले भद्र अवज्ञा आन्दोलनको रूपरेखा बनाउन शीर्ष नेतृत्व लागिपरेको बताए । उनले भने, “हामीले आन्दोलनको तयारीबारे पनि छलफल गरिरहेका छौं ।

 

तर ,सरकारलाई दिइएको समय सीमासम्म हामी पर्खनेछौं ।” संविधान संशोधनलगायत विषयमा कसरी अगाडि बढ्न सकिन्छ र त्यसलाई अझ विश्वसनीय तवरले समझदारी तय गर्न प्रधानमन्त्रीले ठाकुरसँग एक्लाएक्लै भेट्ने तय भएको ठाकुर निकट स्रोतले जनाएको छ ।

 

पार्टीले उठाएको राजनीतिक माग सरकारले पूरा गरे राजपा सरकारमा जाने निर्णय गर्छ ? भनी सोधिएको प्रश्नको जवाफमा उपाध्यक्ष मण्डलले भने, “पहिले संविधान संशोधन हुन दिनुस् । राजनीतिक दलले सरकारमा जाने र नजाने दुवै राजनीतिको उपयोग समय र आवश्यकताअनुसार गर्छ । संघीय समाजवादी फोरम यसअघि बढी विश्वस्त भएर गयो, हामीलाई विश्वास लागेन हामी गएनौं ।”

प्रतिक्रिया दिनुहोस्