धनगढी ब्लुजद्वारा विराटनगर टाइटन्ससामु १ सय ८३ रनकाे लक्ष्य



पोखरा : नमस्ते पोखरा प्रिमियर लिगअन्तर्गत आइतबार पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको विजयी लक्ष्य दिएको छ । विदेशी खेलाडी ड्यानीएल लरेन्स र सौरभ खनालको ब्याटिङमा धनगढीले बलियो योगफल तयार पारेको हो ।

 

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ८२ रनको बनाएको हो । मध्यम शुरुवात गरेको धनगढीका लागि इंग्लिस ब्याट्सम्यान पिटर ट्रेगोले ५३ रनको अर्धशतकीय इनिङ खेले ।

 

३८ बल खेलेका पिटरले ४ छक्का र २ चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । धनगढीले ८ रन जोड्दा पहिलो विकेटको रुपमा ड्यानियल लरेन्सलाई २ रनमा गुमाएको थियो । त्यसपछि सन्दीप सुनार ९ रनमा पभेलियन फर्कदा टिमले जम्मा १३ रन जोडेको थियो । दीलिपनाथ ८ रनमा आउट हुँदा टिमले ३८ रन जोडेको थियो ।

 

त्यसपछि कप्तान ऐरी र पिटरले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । सन्दीप जोरा १२ रनमा आउट भए । रोविन क्षेत्रीले १० रन बनाए । योगेन्द्रसिंह कार्कीले ६ रन बनाए । मन्जित श्रेष्ठ १ रनमा पेभेलियन फर्किए । सौरभ खनालले अन्तिम बलमा क्याचआउट हुनुअघि १३ बलमा ४१ रन जोडे । उनले १३ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गरे ।

 

विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए । किशोर महतो, सुनील धमला, सन्दीप लामिछाने र मोहम्मद जायद आलमले समान १ विकेट लिए ।  विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । दुवै टोली पहिलो जितको खोजीमा छ । विराटनगर पहिले खेलमा पोखरा पल्टनसँग ५८ रनले पराजित भएको थियो । धनगढी ब्लुज हुलास काठमाडौं रोयल्ससँग १७ रनले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्