अब के नै बाँकी छ ? नेकपा फुटिसक्यो, टुप्पिमात्रै जोडिएको छ



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद अहिले स्थायी कमिटीमा पुगेको छ । यसअघि देखिएको विवाद स्थायी कमिटीको बैठकमा समाधान भएको थियो । अहिलेको विवाद पनि स्थायी कमिटीले नै समाधान गर्ने कतिपय नेताको भनाइ छ । तर यो विवाद यति सजिलै समाधान हुने देखिदैन । नेकपा भित्रको विवाद किन भएको हो ? यसको समाधान के हुनसक्छ ? भन्ने विषयमा राजनीति विश्लेषक श्याम श्रेष्ठसँग दनेपाल टपका संवाददाता हरि भट्टले गर्नुभएको संवाद यहाँ प्रस्तुत गरिएको छः

नेकपाको विवादलाई कसरी हेरिरहनुभएको छ ?
यो नयाँ कुरा होइन, धेरै पहिलेदेखि नै विवाद चल्दै आएको छ । पद, जिम्मेवारीको न्यायोचित वितरण हुने भनिएको छ । त्यो हो पनि, जुन ढङगले पार्टी एकता भयो नेकपाको त्यो पार्टी एकताको जग नै एकदम कमजोर थियो । त्यो जग सिद्धान्तको जग थिएन । समाजवादको सिद्धान्तको जगमा एउटा गतिलो राजनीतिक सिद्धान्तमा विचारको जगमा खडा भएको थिएन । यो पदको गणितीय बाँडफाँटको जगमा खडा भएको थियो । त्यो गणितीय जग नै हल्लिएको हुनाले नेताहरुबीच झगडा भएको हो ।

नेकपाको विवाद किन भएको हो ? यसको समाधान के हुनसक्छ ?
पद र जिम्मेवारीको विवाद हो । समाधान पनि जे कारणले विवाद भएको हो, त्यसैमा छ । समाधान त्यो उहाँहरुको जुन ढङगले पार्टी एकता भएको छ, पार्टी एकताको जगलाई मजबुत पारी विवादको समाधान हुन्छ । प्रधानमन्त्री वा पार्टीका पहिलो अध्यक्ष पक्षले जिम्मेवारीको न्यायोचित वितरण म गर्छु, भिन्न मतलाई म साथै लिएर हिड्छु भन्नासाथ यो एकै घण्टामा समाधान हुने विवाद हो । सिद्धान्तको विवाद होइन यो । यसो नगरेर केन्द्रीय समितिमा जाने केन्द्रीय समितिमा गएर दुवैले दुवै थरिको कुरा राख्ने, आफ्नो असन्तोष दुवै थरिले राख्ने, असन्तोषहरु त्यहाँबाट समाधान गर्ने हो भने पनि यो विवाद समाधान हुन सक्छ । यसो गरियो भने यो विवादको समाधान हुन सक्छ वा संसदीय दलमा गएर भोटिङ प्रणालीबाट पनि यो विवाद समाधान हुन सक्छ ।

नेकपा भित्रको विवाद कति हदसम्म जान सक्छ ?
पार्टी फुटको हदसम्म जान सक्छ, जो गइरहेको नै छ ।

यस्तै हो भने पार्टी फुट्छ ?
फुट्छ, पार्टी फुट्नलाई के नै बाँकी रहेको छ र अब घोषणा मात्र त बाँकी हो । दुवैले दुवैलाई शरीरमा लुगा केही बाँकी नरहने गरी आरोप प्रत्यारोप गरिरहेको स्थिति छ । पार्टीको केन्द्रीय समितिको बैठक बसाउनलाई पनि बिन्ती हाल्नुपर्ने स्थिति रहेको छ । भन्नाले अब के बाँकी रह्यो र पार्टी फुट्नलाई ? फुटेको पार्टी हो खालि टुप्पि मात्र जोडिएको छ ।

नेकपा विवादले देशको राजनीतिलाई के प्रभाव पार्न सक्छ ?
दूरगामी प्रभाव पार्छ यसले । यो अहिले उहाँहरुको पार्टीमा यदि फुट भयो भने नेपालमा चरम राजनीतिक अस्थिरता हुन्छ । अल्पमतको सरकारको फेरि सिलसिला सुरु हुन्छ । त्यो भएपछि छिमेकीले खेल्ने, विदेशीले खेल्ने, दक्षिण पन्थीहरुको उत्साह जाग्ने जो अहिले जागेकै छ । त्यो जाग्ने र त्यहाँपछि नेपालमा अस्थिरताको राजनीति सुरु हुन्छ । देशलाई पनि दूरगामी प्रभाव पार्छ । अहिले जो कोरोनाविरुद्धको लडाई छ नि त्यसलाई सबैभन्दा बढी प्रभाव पार्छ । किनभने उहाँहरुको ध्यान त कुर्सीमा मात्रै हुन्छ । अब अहिले पनि पैसा र कुर्सी बाहेक ध्यान अरुमा छैन । अहिले पनि भइरहेको छ झन त्यतिखेर बढी हुन्छ । नेपालको अहिलेको स्थितिभन्दा धेरै नै जटिल स्थितिमा जान्छ । नेपालमा दक्षिणपन्थी द्वन्द पनि हुन्छ, अनि यता वामपन्थी द्वन्दको पनि सुरुवात गर्छ ।

प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागिरहेका छन् । ओलीको राजिनामा पार्टी एकतासम्मत हुन्छ ? अनि ओलीको विकल्प प्रचण्ड नेपाल हुन् त ?
अहिले मैले हेर्दा पहिलो पुस्ताको कुनै पनि नेता नेपालमा नेतृत्व गर्नका लागि उपयुक्त देखिदैनन । केपी ओली हुन् वा प्रचण्ड हुन् वा माधवकुमार नेपाल हुन् । यो समस्याको हल उहाँहरुले राजनीतिबाट संन्यास लिएर स्वच्छ सक्षम नयाँ पुस्तालाई पावर हस्तान्तरण गर्नुमा हुन्छ । राजिनामा माग्नु त पार्टीको स्वभाविक प्रक्रिया भयो । एकले अर्कोको राजिनामा माग्छ अर्कोले अर्कोको माग्छ यो त पार्टी भित्रको द्वन्दको स्वाभाविक प्रक्रिया हो । तर राजिनामा मागेर अर्को पक्ष आउँदैमा समस्याको हल हुन्छ त ? फेरि अर्को पक्षले राजिनामा माग्छ । अहिलेको समाधान के भने सत्तामा गएको जुन पक्षले त्यसले भटाभट राम्रो काम गरेर देखाएको भए ,लोकप्रिय काम गरेर देखाएको भए र आफ्नो घोषणापत्र बमोजिम काम गरेको भए यो समस्या सम्भवतः आउने थिएन । आए पनि जनताले प्रतिकार गथ्र्यो । काम पनि भएको छैन । त्यो भएकाले राजिनामा माग्ने नै भयो ।

अहिलेको अवस्थामा दोस्रो पुस्ताले नेतृत्व पाउने सम्भावना कतिको छ ?
पाउने भनेको त दोस्रो पुस्तालाई कसैले सुम्पिने गर्दैनन् । दोस्रो पुस्ताले आफै तपाई योग्य हुनुहुन्न, तपाईहरु पद छोड्नुहोस हामी चलाउँछौ देश भनेर अगाडि सर्यो भने सम्भावना छ । तर उहाँहरु अहिले त्यसो गरिरहनु भएको छैन । चुपचाप लागेर सुतिरहनुभएको देखिन्छ । मानौं दोस्रो पुस्ता जीवितै छैन जस्तो । सुतेर त दोस्रो पुस्तामा कसले सुम्पिन्छ र । पहिलो पुस्ता आर्यघाटमा पुगुन्जेल पद नछोड्ने जस्ता छन् । त्यसकारण पहिलो पुस्ताले पाउने सम्भावना त मैले देख्दिन ।

पार्टीमा विधि र पद्धतिको कुरा बेलाबेलामा उठिरहन्छन् ओलीले मात्रै विधि र पद्धति नमानेको हो कि प्रचण्ड नेपाल पनि उस्तै हुन ?
बैठकको माग गरिरहेको देखिन्छ बैठकको माग गर्नु त विधि पद्धतिको कुरा हो । जसले बैठकबाट समस्याको समाधान गरौं भनिरहेका छन् ती विधि र पद्धतिको माग गरिरहेका भन्छन । जसले बैठक मै नजाऊ भन्छ दुई जना मात्र मिलेर समस्या हल गरौं भन्छ विधि र पद्धति त्यसलले नाघेको हुन्छ । विधि र पद्धति भनेको केहो लोकतान्त्रिक विधि र पद्धति हो । हरेक कमिटीमा जाने, सचिवालयमा जाने वा स्थायी कमिटीमा जाने वा केन्द्रीय कमिटीमा जाने वा संसदीय दलको बैठकमा जाने समस्या त्यो आफ्ना कुरा पनि राख्ने भिन्न मतको कुरा पनि सुन्ने । सुनेर समस्याको समाधान गर्ने विधि र पद्धति भनेको हो । विधि पद्धति नाघेको त सत्ता पक्षले नै देखिन्छ तर अर्कोले पनि आफू प्रधानमन्त्री हँुदा के गरेको थियो त ? भन्ने प्रश्न उठ्छ फेरी त्यति खेर त विधि र पद्धतिमा राम्ररी चलेको त ज्यादै कम नेता छन् नेपालमा ।

प्रतिक्रिया दिनुहोस्