अनैतिक सम्बन्ध लुकाउन हत्या, २ जना पक्राउ



लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका-४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या आरोपमा दुई युवा पक्राउ गरेका छन् ।

प्रहरीले आज पत्रकार सम्मेलन गर्दै युवतीको हत्या गरेको आरोपमा दुई युवालाई सार्वजनिक गरेको छ । सोही नगरपालिका वडा नं ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेलले ती युवतीको विभत्स हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको छ । सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अनैतिक सम्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया गर्भवती रहेको हल्ला गरेपछि उक्त घटना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सागरले उक्त घटना लुकाउनका लागि साथी विकाससँग सबै कुरा सल्लाह गरेको र गत मंसिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर बिहान साढे ५ बजे गएर युवती रहेको कोठामै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दासम्बन्धी कसुरमा अनुसन्धान गर्ने प्रहरीको भनाइ छ ।

प्रकाशित :३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्