५० लाख लागतमा माछापालन



बागलुङ : ताराखोला गाउँपालिका–४ छम्टुमा रु ५० लाखको लागतमा माछापालन शुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ । 

 

सञ्चालक सुवास राजभण्डारीले अझै १० पोखरी थप्ने योजना रहेको बताए । सो फार्ममा गण्डकी प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्री र पदम खत्रीको समेत लगानी रहेको छ ।

 

जग्गा खरिद र संरचना निर्माण गर्न रु ५० लाखभन्दा बढी खर्च भएको राजभण्डारीले बताए । “पोखरीमा छाडिएका माछा दुई महीनापछि बिक्री गर्न सकिनेछ,” उनले भने । 

 

छ महिना अघि पोखरीमा १३ हजार रेम्बो ट्राउट जातको माछाको भुरा छाडिएको छ । हाल सात हजार भुरा मात्र पोखरीमा छन् । भुरा नुवाकोटबाट खरिद गरेर ल्याइएको हो । एउटा भुराको मूल्य रु १२ परेको बताइएको छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वास्थ्यका लागि उत्कृष्ट मानिन्छ ।

 

बजारमा यसको माग अत्यधिक रहेको छ । “तयार नहुँदै माग आउन थालिसक्यो,” सञ्चालक खत्रीले भने । 

 

हाल उत्पादन भएको माछा गाउँमै खपत हुने गरेको छ । प्रतिकिलो रु एक हजार १०० मा माछा बिक्री भइरहेको छ । ठूला होटल तथा रेष्टुराँको रोजाइमा ट्राउट माछा पर्ने गरेको छ । माछापालनसँगै छम्टुमा होटल, रेष्टुराँ खोल्ने लक्ष्य व्यवसायीको छ ।

 

“थप पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना छ”, खत्रीले भने । फार्ममा चार जनाले रोजगारी पाएका छन् । माछापालनसँगै स्थानीय जातको कुखुरापालन पनि यहाँ शुरु गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्