पूर्वमन्त्री पाैडेलकाे मन्त्री पाेखरेललाई प्रश्न : फसेको हो कि फसाइएको हो ?



काठमाडौं : पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गरेका छन्। यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको अधिकांशको आरोप भइरहेका बेला पूर्वमन्त्री पौडेलको पनि यस्तो स्टाटस आएको हो ।

बहालवाला मन्त्रीको क्रियाकलापप्रति आक्रोश पोख्दै पौडेलकाे स्टाटसमा भनिएको छ, ‘सार्वजनिक विद्यालयको रुपान्तरण, सबलीकरण, सशक्तीकरण र सुदृढीकरण नीति, विधि, योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो?’

‘आफैँले आफ्नै मन्त्रीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पाँच महिना सात दिन लगाएर तयार गरेको सार्वजनिक विद्यालयको प्रवद्र्धनका सुझाव र सिफारिससहितको प्रतिवेदनसहित नीति, विधि र कानूनका मस्यौदा घर्रामा थन्क्याएर देशभरिबाट सार्वजनिक विद्यालयसँग सम्बद्ध केही मान्छे काठमाडौंमा बोलाएर भाषण सुनाएर पठाएपछि सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरण हुन्छ, तिनले गुणस्तरीय शिक्षा दिन थाल्दछन् भन्ने ठूलो भ्रममा सरकार परेको देखियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय त्यसमा फसेको हो कि फसाइएको हो ?’, उनले लेखेका छन्।

यसअघि अधिकांश योजना निर्माण गर्दा मन्त्री पोखरेलले पूर्वशिक्षामन्त्रीको हैसियतले पौडेलसँग सल्लाह लिन्थे। स्रोतको आरोपअनुसार पछिल्लो समयमा मन्त्री पोखरेलले एकलौटी निर्णयमार्फत् विभिन्न नयाँ योजना तय गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्