उपत्यकामा सुरक्षा व्यवस्था कडा



काठमाडौं : संसद विघटनपछि आन्दोलन चर्कन सक्ने भन्दै उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । विशेषगरी उपत्यकाका क्याम्पसअगाडि भारीमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

विगतमा विद्यार्थी आन्दोलनको मुख्य केन्द्र मानिएका राजधानीका त्रिचन्द्र, शंकरदेव, रत्नराज्य तथा नेपाल ल क्याम्पसअगाडि सुरक्षाकर्मी तैनाथ गरिएका हुन् ।

आइतबार पनि संसद विघटन गरिएलगत्तै सत्तारुढ नेकपाकै जनवर्गीय संगठन तथा नेपाली काँग्रेसले राजधानीमा विरोध प्रदर्शन गरेका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । बालुवाटारको सुरक्षा छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उपस्थित थिए ।

सुरक्षा निकायसँगको बैठकमा नयाँ राजनीतिक कदमविरुद्ध हुनसक्ने राजनीतिक आन्दोलन तथा सडक प्रदर्शन र त्यसले सुरक्षामा उत्पन्न गर्नसक्ने चुनौतीलाई ध्यानमा राख्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका थिए ।

प्रकाशित : पुस ६, २०७७

प्रतिक्रिया दिनुहोस्