बाख्रापालनबाटै यसरी हुन सकिन्छ मालामाल



स्वदेशमै उद्यम गर्न इच्छुकहरूको लागि बाख्रापालन एउटा भरपर्दाे व्यवसाय हो। विदेशबाट फर्केर पनि यस व्यवसायलाई अपनाउने नेपाली युवा छन्। व्यवस्थित तरिकाले सुरु गर्ने हो भने थोरै लगानीबाट पनि धेरै आम्दानी गर्न सकिने भएकाले यस व्यवसायप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। बाख्रापालन तराई, पहाड, हिमाल जहीँतहीँ हुने व्यवसाय हाे। आउनुहाेस् हामी तपाईलाई यसबारे केही जानकारी गराउँछाैं।

बाख्रापालन व्यवसाय सुरु कसरी गर्ने ?

व्यवसायको सुरूवात लगानीको प्रकृतिअनुुसार भर पर्छ। उन्नत पाठा किनेर हुर्काउने वा बाख्रा किनेर प्रजजन्मार्फत बढाउने भन्ने कुरा सुरूमै निर्णय गर्नुपर्छ। एकैपल्ट धेरै ठूलो लगानी गर्नुभन्दा पनि पहिला सानोबाट सुरू गरेर बढाउँदै जानु राम्रो हुन्छ। सामान्यत बाख्रा वर्षमा दुई पटक ब्याउँछ। उन्नत जातको विशेष बाख्रा भए जोडी पाउने सम्भावना हुन्छ। यसरी उन्नत जातको बाख्रा पालेमा एउटा बाख्राबाट वर्षमा ४ वटासम्म पाठापाठी उत्पादन गर्न सकिन्छ।

नेपालकाे कुन ठाउँमा कस्ता जातका बाख्रापालन फस्टाउँछ त ? 

  • तराई जातका बाख्रा (यसमा जमुनापारी पर्छ) : तराई तथा भित्री मधेश (३०० मिटरसम्म)
  • खरी/पहाडी बाख्रा: तल्लो र मध्य-पहाडी क्षेत्र (३०० मिटरदेखि १५०० मिटरसम्म)
  • सिन्हाल बाख्रा: उच्च पहाडी क्षेत्र (१५०० मिटर देखि २५०० मिटर सम्म)
  • च्याङ्गरा: हिमाली क्षेत्र (२५०० मिटरभन्दा माथि)
  • स्थानीय बाख्रा र जमुनापारी बाख्राबीच प्रजनन (क्रस) गराएर निस्केको वर्णशंकर जात: तराई, पहाड, र उच्च पहाडी क्षेत्र
  • स्थानीय बाख्रा र बार्बरी जातको बाख्रा बीच प्रजनन गराएर निस्केको वर्णशंकर जात: तराई, पहाड र उच्च पहाडी क्षेत्र
  • जमुनापारी: तराई तथा मध्य-पहाड(१५०० मिटरसम्म)
  • बार्बरी: तराई तथा मध्य-पहाड(१५०० मिटरसम्म)

कहाँ कस्ता घाँस लगाउने?

बाख्रापालन सुरु गर्नु अगाडि नै घाँसको छनाेट गरसक्ने र घाँस लगाउन जरुरी हुन्छ। डाले घाँस लगाउदा राम्रो हुन्छ। जस्तै : किम्बु, इपिल, भटमासे, टाँकी, कोइरालो, निमारो,राईखन्यु, बकाइनो, बडहर, कालोसीरिस, दूधिलो, कुटमिरो, गेडुलो, शैजन, इन्दु, मेंदोला, किम्बु कटिंग, काभ्रे कटिंग आदि। ठाउँअनुसार यी घाँस लगाउने स्थान पनि फरक फरक हुन्छन्।

घाँसखेतीको लागि गुणस्तरीय घाँसको बीउ तथा बिरुवा छनाेट गर्न जरुरी हुन्छ। वर्षभरि हरियो घाँस उपलब्ध गर्न घाँसखेतीसम्बन्धी ज्ञान र सीपको पनि आवश्यकता पर्छ। यसका लागि बढी उत्पादन दिने पौष्टिक तत्वहरु प्रशस्त भएका एकवर्षे, बहुवर्षे, डालेघाँस तथा भुइँघाँसका प्रजातिहरु व्यवस्थित रुपले लगाउनुपर्ने हुन्छ। यस्ता घाँसहरु सिजनेली तथा बहुवर्षे हुन्छन्। सिजनेली घाँसहरु उपयुक्त सिजनमा जमिन तयार गरी छर्नुपर्छ र डाले घाँस उत्पादनको लागि नर्सरीमा बिरुवा तयार पारी उपलब्ध जमिनमा व्यवस्थित तरिकाले लगाउनपर्छ।

जङ्गलमा चराउन लैजानुभन्दा घाँस काटेर टाट्नोमा हालिदिएर खसी बाख्रालाई खुवाउनु राम्रो हुन्छ। जङ्गल लाँदा ब्याउने शक्ति कम हुनुका साथै बाख्राको मासु नबढ्ने समस्या आउन सक्छ।

खोर कसरी बनाउने ?

बाख्राका लागि खोर आधुनिक तरिकाले व्यवस्थित रूपमा बनाउनुपर्ने हुन्छ। काठ तथा बाँस प्रयोग गरी आवश्यकताअनुसार साना टहराहरू निर्माण गर्न सकिन्छ। खोरको उचाइ भने जमिनबाट १ देखि १.५ से.मी सम्मको हुनुपर्छ साथै बड्क्यौला र पिसाब झर्ने राम्रो व्यवस्था मिलाउनुपर्छ। यसो गर्दा खोर सफा गर्न सजिलो हुन्छ।

खोरमा हावा आवतजावत हुने र घामको प्रकाश भित्र पर्ने गरी भेन्टिलेसनहरु बनाउनुपर्छ। घाँस हालिदिनका लागि राम्रा टाट्नाको व्यवस्था गर्नुपर्छ|  खोरलाई सफा राख्नुपर्छ र चिसोबाट बचाउनुपर्छ। ब्याउने बाख्रा, पाठापाठीहरु, खसीहरू र बोका सबैलाई आवश्यकताअनुसार छुट्टाछुट्टै खोरमा राख्नुपर्छ।

बाख्रापालन पद्धतिमा सुधार कसरी गर्ने?

  • सन्तुलित आहार उपलब्ध गराउने
  • उन्नत खोरको व्यवस्था गर्ने
  • लवणहरु, नुन र भिटामिनहरु नियमित रुपले दिने व्यवस्था मिलाउने
  • बोका, बाख्री साना पाठा-पाठी, खसी र बयस्कहरुलाई राख्ने अलग-अलग व्यवस्था मिलाउने
  • वर्षको २ पटक वह्य परजीवीविरुद्ध औषधि पानीले नुहाइदिने व्यवस्था मिलाउने
  • औषधीहरु नियमितरुपले खुवाउने व्यवस्था मिलाउने
  • समय-समयमा भ्याक्सिनहरु दिने व्यवस्था मिलाउने
  • धन-खेत र धाप, दलदल क्षेत्रमा चर्न जान नदिने

कस्तो छ बाख्राकाे व्यापार ?

खसी किलोको आधारमा बिक्री हुन्छ। जति धेरै बढाउन सक्यो उति फाइदा हुन्छ। कतिपयले आफ्नै मासु पसल खोलेर मासु बिक्री गर्ने गरेको पाइन्छ। सानोतिनो बजार नजिकै भए बिक्री नहोला कि भन्ने डर पनि यसमा हुँदैन। इन्डियाबाट वर्षको खरबौंको खसी बाख्रा नेपाल भित्रिन्छन्। आफ्नै देशमा यसको उत्पादन गर्ने हो भने व्यवसाय निकै राम्रो सँग फस्टाउनेछ। त्यस कारण विदेशिनुभन्दा देशमै बाख्रा पालन सुरु गर्ने हो भने यसबाट प्रशस्त आम्दानी गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्