संघीय सरकारले समयमै बुद्धि पुर्यायो : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश २ प्रहरीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशमा रहेको प्रहरीलाई प्रदेशमातहत ल्याउने कार्य अगाडि बढाएकोमा खुसी व्यक्त गर्दै संघीय सरकारले समयमै बुद्धि पुर्याएको बताएका छन् ।

 

समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री राउतले मुलुकमा संविधानले तीन प्रकारको सरकारको परिकल्पना गरेको भन्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच अझ राम्रो साझेदारी र समन्वय आवश्यक रहेको बताए । 

 

समाजमा अपराधीको अपराध गर्ने शैली परिवर्तन भइसकेकोले प्रदेश सरकारले पनि अत्याधुनिक प्रविधिको माध्यमबाट अपराध नियन्त्रण गर्न एक पाइला अगाडि बढाइसकेको स्पस्ट पारे ।

मुख्यमन्त्री राउतले प्रदेश २ प्रहरीलाई सम्बोधन गर्दै भने, ‘समुदाय प्रहरी साझेदारीलाई सफल बनाउन सदैव तत्पर भई प्रतिबद्धताका साथ अगाडि बढ्न आग्रह गरे ।

उनले समुदायलाई पनि आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका थिए ।

अब स्कुल, कलेज  हुँदै गाउँ गाउँमा सुरक्षा प्रत्याभूति दिन प्रदेश सरकारले गृहकार्य अघि बढाइसकेको बताए । प्रहरीको कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा छिट्टै साइबर क्राइमलाई नियन्त्रण गर्न अघि बढेको बताए । मन्त्री यादवले शान्ति सुरक्षाका सवालमा प्रहरी मात्रले नपुग्ने भन्दै समुदायलाई सहयोग गर्न आग्रह गरे । 

 

प्रहरी ऐनमा महिलालाई प्राथिकतामा राखेको भन्दै मन्त्री यादवले महिला सुरक्षालाई विशेषमा राखी मोबाइल एप्पसम्म ल्याइएको जानकारी दिए । 

रणनीतिक रुपमा स्कुलदेखि कलेजसम्म समिति बनाएर जाने परिकल्पनासहित अघि बढेको र युवालाई लक्ष्य गरी छिट्टै कार्यक्रम ल्याइने मन्त्री यादवले बताए । 

 

जनकपुरको सीताशरण होटलमा भएको कार्यक्रममा मैथिली भाषामा बोल्दै जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रले अब महिला सुरक्षित हुनेमा विश्वास व्यक्त गरिन् । 

स्थानीय, प्रदेश र प्रहरीसँग मिलेर काम गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरिन् । जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव बनरैत यादवले समुदाय प्रहरी साझेदारी कार्यक्रम समुदायकै लागि भएकोले यसमा सबैको सहयोग अपरिहार्य रहेको बताए । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री नवलकिशोर साहले वर्तमान संविधान समन्वयकारी रहेको जिकिर गर्दै प्रहरीको ब्यानरमा लेखेको हर प्रहर, गाउँ नगर, टोल टोलमा प्रहरीलाई मूर्त रुप दिन सहकार्यात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।

 

कार्यक्रमबारे प्रकाश पार्दै प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले सातै प्रदेश ७७ वटै जिल्लामा एकैसाथ समुदाय प्रहरी साझेदारी कार्यक्रम भइरहेको बताए । उनले भने, ‘साधनश्रोत अभावमा आवश्यक काम हुन नसके पनि प्रयास जारी छ ।’

 

२०७४ असोज ६ गते प्रहरी हाम्रो टोलमा कार्यक्रम सुरु गरिएकोबारे जानकारी दिँदै प्रहरी प्रमुख पालले सामाजिक विकृति र विसंगति रोक्न प्रहरी एक्लै सफल नहुने हुँदा सामुदाय र प्रहरी साझेदारीको अवधारणा लिएर अगाडि बढेको बताए । विद्यालय पाठ्यक्रममा श्रव्यदृश्यको माध्यमबाट कार्य गर्ने पनि उनले बताए ।

महिला सुरक्षाका लागि हेलो सीएम मोबाइल एप सुरु 

महिला सुरक्षालाई ध्यानमा राखी प्रदेश २ सरकारले हेलो सीएम मोबाइल अपको सुभारम्भ गरेको छ । एपको मुख्यमनत्री राउतले सुभारम्भ गरेका छन् । एपबाट महिलालाई प्रत्यक्ष फाइदा हुनेमा मुख्यमन्त्री राउतले विश्वास व्यक्त गरे । 

मोबाइल एपको उदघाटन गर्दै मुख्यमन्त्री राउतले स्कुल कलेजसहित गाउँमा पनि यसबारे जानकारी गराउन आग्रह गरे ।  

 

एप कसरी प्रयोग गर्ने

 

एपबाट महिलाहरुले आफ्ना समस्या सीधै प्रहरी र प्रदेश सरकारलाई भन्न सक्छन् । एपमा अत्यावश्यक एमरजेन्सी एप्लिकेसन समावेश गरिएका छन् । एपमार्फत तत्काल प्रहरीलाई खबर गर्न मिल्ने र प्रहरी गुगलको सहायतामा घटनास्थलमा केही समयभित्रै पुग्ने बताइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्