बलात्कार गरेकाे ठहर गर्दै सरकारी शिक्षकलार्इ मृत्युदण्ड



एजेन्सी : भारतको मध्यप्रदेशको सतना जिल्लाको एक अदालतले चार वर्षीया बालिका बलात्कार गरेको भन्दै २३ वर्षे सरकारी शिक्षकलाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ ।

 

टाइम्स अफ इन्डियाका अनुसार घटनाको ८१ औं दिनमा यो निर्णय सुनाइएको हो । पछिल्लो ७९ दिनदेखि बालिका दिल्लीको एम्स अस्पतालमा भर्नारत छिन् । उनको स्थिति अहिलेसम्म चिन्ताजनक बताइएको छ ।

 

जिल्ला न्यायाधीश दिनेशकुमार शर्माले बालिकाको अपहरण गरेर बलात्कार गरेको भन्दै महेन्द्रसिंह गोन्डलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएका हुन् ।

 

‘दिल्लीमा रहेका पीडित बालिका र उनका परिवारको बयान भिडियो कन्फरेन्समार्फत लिएपछि गोन्डलाई मृत्युदण्डको सजाय सुनाइएको हो,’ जिल्ला अभियोजन अधिकारी रामपाल सिंहले भने ।

सिंहका अनुसार गोन्ड पीडितको परिवारसँग निकै नजिक थिए । जुलाई १ तारिखमा पीडित बालिकाका बुवालाई भेट्न गोन्ड मातेको अवस्थामा उनको घर गए । उनले त्यहाँ ती बालिकालाई घर बाहिरको कटमा सुतिरहेको देखे । बालिकाका बुवालाई भेटेपछि उनी त्यहाँबाट फर्किए ।

 

‘त्यसको केही समयपछि गोन्ड पुनः फर्किए र बालिकालाई कटमा एक्लै सुतिरहेको पाए । उनका बुवा त्यतिबेला शौचालय गएका थिए,’ सिंहले भने । ‘मौकाको फाइदा उठाउँदै गोन्डले बालिकालाई उनको घरबाट लिएर गए अनि बलात्कार गरे । त्यसपछि झाडीमा फ्याँकिदिए,’ उनले थपे ।

 

जब बालिकाका बुवा फर्किए र छोरीलाई देखेनन् तब उनी हल्लाखल्ला गर्न थाले । विभिन्न स्थानमा खोजी गरेपछि बालिकालाई झाडीमा फ्याँकिएको पाए । पछि उनलाई पुलिसले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्