ओलीलाई हटाएर माधवकुमार नेपाल अध्यक्ष बनाइए



काठमाडौं : नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएको छ ।

बानेश्वरको कार्की बैंकेटमा बसेको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षबाट ओलीलाई हटाएर माधवकुमार नेपाललाई बनाउने निर्णय सर्वसम्मतले पारित गरेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए ।

यस्तै मंगलबार नै बसेको उक्त समूहको स्थायी कमिटीको बैठकले नेपाललाई ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

नेता नेपालाई अध्यक्ष बनाउने प्रस्तावको प्रभु शाहले विरोध गरे । उनले दुईजना अध्यक्ष बनाउने प्रस्तावलाई नाटकको संज्ञा दिदै पार्टीमा एउटा मात्र अध्यक्ष हुनुपर्ने बताए । उक्त समूहका एक नेताका अनुसार दाहाल र नेपालले आलोपालो पार्टी चलाउने सहमति भएको हो ।

बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पनि पारित गरेको छ । बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आइतबार भएको संसद् विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको हो । आन्दोलनका स्वरुप भने बुधबार कांग्रेस लगायत दलसँग छलफल गरेर तय गर्ने र बिहीबारको बैठकपछि आन्दोलन अगाडि बढाउने जनाइएको छ । यस्तै बुधबार १ बजे संसदीय दलको बैठक पनि आह्वान गरिएको छ । पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।

बैठकमा ३ सय भन्दा बढी मौजुदा केन्द्रीय सदस्य संख्या मध्ये ३ सय १० जना उपस्थित थिए । ४४७ मौजुदा सदस्य सख्याको दुई तिहाई हो । नेकपाको मौजुदा केन्द्रीय कार्यसमितिको ४ सय ४७ मध्ये ३ सय १० जनाको उपस्थिति भएको बैठकले ओलीलाई हटाउने निर्णय गरेको हो । बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले संसद बिघटन गराएपछि नेकपाभित्रको विवाद चर्किएको थियो । यसअघि ओली पक्षीय नेकपा बैठकले केन्द्रीय कमिटी बैठक विस्तार गरी ११ सय ९९ बनाउने निर्णय गरेको थियो । केन्द्रीय सदस्य थपेको जानकारीसहितको पत्र निर्वाचन आयोगमा समेत पठाएको छ ।

प्रकाशितः ७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्