नेपाल-अमेरिका चलचित्र महोत्सव जुनमा



काठमाडौं : नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ ।

वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने यो संस्करणका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ । महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन हुनेछ ।

नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा छन् । वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्सहान गर्न ‘डीएमभी क्लोजअप’ प्रदर्शनी हँुदै आएको छ । २०२१ मा पनि ‘डीएमभी क्लोजअप’ झन् बृहत गरिनेछ ।

स्थापनादेखि नै ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएको चलचित्रहरु आगामी वर्ष पनि समावेश हुनेछ । अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्ने छन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शनपछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । कोभिडको कारणले सन् २०२० को संस्करण स्थगित गरिएको थियो ।

प्रकाशित :७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्