सीमा नाकामा हेल्थ डेस्क, औंलोका एक बिरामी फेला परे



कैलाली: भारतबाट नेपालमा भित्रिन सक्ने औंलो नियन्त्रण गर्ने उद्देश्यले कैलालीको तीन ठाउँमा स्थापित ‘हेल्थ डेस्क’ बाट एक जना औंलोको बिरामी फेला परेका छन् ।

भारतका विभिन्न शहरमा रोजगारी वा अन्य काम गरेर घर फर्किएका नेपालीहरूमध्ये चार सय २२ जनाको हेल्थ डेस्कमा रगत परिक्षण गरिएकोमा एक जनामा औंलोरोग फेला परेको कैलाली जिल्ला जनस्वास्थ्य कार्यालय, धनगढीले जनाएको छ ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढीको त्रिनगर, टीकापुरको खक्रौला र भजनीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भारतबाट फर्किएका नेपालीमध्ये त्रिनगर नाकास्थित हेल्थ डेस्कमा दुई सय ७२ जनाको रगत परीक्षण भएको थियो । त्यस्तै, टीकापुरको खक्रौलामा ९१ जना र भजनीमा ५९ जनाको रगत परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

“त्रिनगर र भजनी नाकामा रगत परीक्षण गरिएका व्यक्तिमा औंलोको लक्षण देखिएको छैन” 

 

जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले भने– “टीकापुरको खक्रौलामा ९१ जनाको रगत परीक्षण गरिएकोमा एक जनामा औंलो देखिएको छ ।” उनले औंलोका बिरामी भेटिए लगत्तै स्वास्थ्यकर्मीको निगरानीमा राखेर नि:शुल्क उपचार गराएको बताए ।

 

भारतको उत्तर प्रदेशको लखनउ र बरेलीमा औंलोको महामारी बढेपछि सीमा क्षेत्रमा सतर्कता अपनाइएको छ । भारतमा लामो समयसम्म रोजगारी वा अरू कुनै काम गरेर फर्किएका नेपालीबाट प्रदेशमा औंलोरोग भित्रन सक्ने भन्दै सीमा क्षेत्रमा स्वास्थ्य हेल्थ डेस्क राखिएको भेक्टर कन्ट्रोल सुपरभाइजर भट्टले बताए ।

 

उनले भने– “भारतका विभिन्न शहरमा रोजगारी वा अरू कुनै काम गरेर नेपाल फर्किनेहरूका लागि रगत चेकजाँच गरेर औंलोका बिरामी पत्ता लगाउने काम भइरहेको छ । भारतबाट आउनेहरूले प्रदेशमा औंलो रोग भित्राउन सक्ने भएकाले उनीहरूको स्वास्थ्य परिक्षण गरिरहेका छौं ।

 

भजनी नगरपालिका स्वास्थ्य संयोजक कीर्तिसिंह विकले हेल्थ डेस्कमा रगत परीक्षण गर्दा औंलोका बिरामी भेटिने वित्तिकै अस्पतालमा लगेर निस्शुल्क उपचार गराइने बताए । उनले भने– “पछिल्लो पटक भारतमा महामारीका रूपमा औंलो फैलिएपछि नेपालमा भित्रन नदिन हामीले सीमामा निगरानी बढाएका छौं ।”

 

गत आर्थिक वर्षमा कैलालीमा औंलोका तीन सय जना बिरामी फेला परेका थिए । तीमध्ये दुई सय पाँच जना भारतका विभिन्न शहरबाट फर्किएका नेपाली थिए । “यो तथ्यांकले औंलोका बिरामी बाहिरी राष्ट्रबाट ६६ प्रतिशत कैलालीमा भित्रिएको देखिन्छ” कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले द नेपाल टप सँग भने– “औंलोरोग लागेर बाहिरी राष्ट्रबाट कैलाली भित्रिएको तथ्यांक बढेपछि सीमामा हेल्प डेस्क राखिएको हो ।”

 

यस वर्ष साउनदेखि असोज मसान्तसम्ममा कैलालीमा ८२ जनामा औंलोका लक्षण देखिएको बताउँदै भेक्टर कन्ट्रोल सुपरभाइजर भट्टले भने– “तीमध्ये ६१ जना भारतबाट आयातित बिरामी रहेका छन् ।”

 

उनले दशैंतिहारमा भारतबाट धेरै नेपाली घर फर्कने भएकाले सर्तकता बढाइएको बताए । “तिहारपछि प्रदेश सरकारले यसलाई निरन्तरता दिन्छ वा के गर्छ थाहा भएन” उनले भने ।

नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औंलोरोग निर्मूलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्