ओलीले लोकतन्त्रको हत्या गरे : प्रचण्ड



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको दोहोर्याएका छन् ।

प्रचण्डले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले संसद् विघटन गर्नु असंवैधानिक भएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको हत्या गरी संविधानको अपहरण गरेको आरोप लगाए । प्रचण्ड-नेपाल समूहले शुक्रबार काठमाडौंमा गरेको पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने,‘ओलीले निर्मम तरिकाले लोकतन्त्रको हत्या गरेका छन ।’ उनले सर्वोच्च अदालतप्रति भरोसा भएकोले संविधानमा भएको व्यवस्थाअनुसार नै निर्णय हुने विश्वास व्यक्त गरे ।

प्रचण्डले पार्टीको नाम, चुनाव चिन्ह र लोगो आफूहरुले नै पाउने दाबी गरे । पूर्व एमाले र माओवादीको पार्टी एकता हुँदा ४ सय ३८ जना केन्द्रीय सदस्य रहेको भन्दै प्रचण्डले अहिले ३ सय १५ जना सदस्यहरु आफ्नो पक्षमा रहेकाले निर्वाचन आयोगले पार्टीको नाम, चुनाव चिन्ह र लोगा आफूहरुलाई दिने विश्वास रहेको बताए । उनले प्रधानमन्त्री अध्यक्ष समूहको नेकपाले नेकपाको लोगो, नाम, चिन्ह केही पनि पाउने आधार नरहेको पनि दाबी गरे । ‘नाम, चुनाव चिन्ह, लोगो दुई तिहाई वा ७० प्रतिशतले पाउने कुरा स्वतः स्पष्ट नै छ,’ उनले भने ।

उनले यहाँ संविधानअनुसार उल्लेख बहुमतको कदर नगरी संविधानको असंवैधानिक तरिकाले निर्मम हत्या हुने दुःसाहस भएकाले नीति पालना नहुनेमा शंका रहेको बताए । ‘नेपालमा अहिले जसरी असंवैधानिक र निर्मम तरिकाले लोकतन्त्रको हत्या गर्ने दुःसाहस गरिएको छ,’ उनले भने, ‘संविधान बनाउने बेलामा धेरै छलफल गरेर संविधान भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई दिँदा देश अस्थिरताको भुमरीमा जाने भएको प्रधानमन्त्रीलाई त्यो विशेषाधिकार दिनु हुँदैन भन्दा केपी शर्मा ओलीको समर्थन थियो । अहिले आफैँले त्यसो गर्नुभयो ।’

संसद् अधिवेशन डाक्नुपर्ने बेलामा संसद नै भंग गर्नु लोकतन्त्रमाथिको हत्या र अपहरण भएको प्रचण्डको टिप्पणी छ । ‘सदन डाक्नुपर्ने बेलामा भंग गरियो । त्यसकारणले यो निर्मम छ, लोकतन्त्रमाथिको हत्या र अपहरणको कदमका विरुद्ध सिंगो राष्ट एक हुनुपर्छ’ उनले भने । प्रचण्डले आफ्नै पार्टीको नेतृत्वको सरकारले संसद विघटन गरेर निरंकुशता देखाएको उल्लेख गर्दै संसद विघटनकोे मुद्दा अदालतमा मात्रै नगएर जनतामा समेत गएको बताए ।

उनले संसद विघटनका विरुद्धमा आजैबाट आन्दोलन सुरु भएको भन्दै पहिलो चरणको आन्दोलनबाट पनि सुनुवाइ नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतापनी पनि दिए । ‘काँग्रेस जसपा र नागरिकहरुसँग लगातार संवादमा छौँ । संयुक्त कार्यक्रम ल्याउने तयारी पनि गर्दैछौँ,’ प्रचण्डले भने ।

‘सदनभित्रबाट समस्या समाधान हुँदासम्म सदन विघटन र अर्को निर्वाचनमा जाने कुरै हुँदैन’, प्रचण्डको भनाइ छ । निर्मम, निरंकुश र तानाशाहीको नाङ्गो रुप भएकाले यो लोकतन्त्रमाथिको हत्या भएको उनको दाबी थियो । पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकले गरेका निर्णयका बारेमा जानकारी गराएका थिए । उनले लोकतन्त्र र संविधानको पक्षमा भएको आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिएका थिए ।

प्रकाशितः १० पुष,२०७७

प्रतिक्रिया दिनुहोस्