एएफसी यू-१९: पाकिस्तानको पोष्टमा नेपालको ९ गोल



काठमाडौँ : थाइल्याण्डमा भइरहेको एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप क्वालिफायरमा नेपालले आइतवार पाकिस्तानलाई पराकिलो गोल अन्तरले पराजित गरेको छ।

 

क्वालिफायरको समूह बी अन्तर्गत भएको खेलमा नेपालले पाकिस्तानलाई ९-० ले हरायो। समूहको पहिलो खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको नेपालले त्यसपछि भारत र पाकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। लगातार दोस्रो जितपछि नेपालले दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ। त्यसका लागि आजै हुने थाइल्याण्ड र भातबीचको खेलको नतिजा पनि कुर्नुपर्नेछ।

 

समूहको सबै खेल खेलिसकेको नेपालले ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ। अपराजित थाइल्याण्ड ६ अंकका साथ पहिलो स्थानमा छ। २ खेलबाट ३ अंक रहेको भारत तेस्रो स्थानमा छ भने सबै खेल हारेको पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।

 

आजै थाइल्याण्ड र भारतबीच समूहको अन्तिम खेल हुँदैछ। त्यसपछि दोस्रो चरणमा छनोट हुने टिमको टुङ्गो लाग्नेछ।

 

थाइल्याण्ड एएफसी यू-१९ वुमन्स च्याम्पियनसिपको आयोजकको नाताले यसअघि नै अन्तिम चरणमा छनोट भइसकेको छ। यदी थाइल्लेयाण्ड समूह विजेता र उपविजेता भए क्वालिफायरबाट थप एक टिमले दोस्रो चरणमा स्थान बनाउनेछ। 

 

क्वालिफायरका छ समूहको विजेता र उत्कृष्ट दुई उपविजेता दोस्रो चरणमा पुग्नेछन्। थाइल्याण्ड समूह विजेता बने यस समूहमा उपविजेता हुने टिम सिधै दोस्रो चरणमा पुग्नेछ। अर्को टिम समूह विजेता र थाइल्याण्ड उपविजेता बने तेस्रो उत्कृष्ट उपविजेता दोस्रो चरण पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्