हेटौँडामा यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते



हेटौँडा : हेटौँडामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

शनिबार हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा दुर्घटना भएको हो ।

बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । यसैगरी घाइते आठै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बस चालक चितवनको राप्ती नगरपालिका–२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ११, २०७७

प्रतिक्रिया दिनुहोस्