प्रचण्ड–नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ ।

गत बिहीबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले विभिन्न चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।

पूर्व निधारित कार्यक्रमअनुसार प्रचण्ड–नेपाल पक्षले आइतबार ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

उक्त पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने, २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्नेछ । यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन् ।

शनिबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न राजनीतिक दलले काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्