सांगीतीक ज्ञान र साधनालाई निरन्तरता दिन सक्यो भने सफल भइन्छः गायक शिव परियार



शिव परियार आधुनिक सुगम संगीतका एक चर्चित गायक हुन् । क्या दामी भो, कहाँ थियौ तिमी, अलिकति नजर तिम्रोजस्ता चर्चित गीतसहित उनले हालसम्म ३ यस भन्दा बढी आधुनिक गीतहरु गाइसकेका छन् । पछिल्लो समय कोरोना महामारी सुरु भएसँगै सबै क्षेत्र समस्यामा छ । त्यसको मारमा सांगीतीक क्षेत्र र शिव पनि पर्ने नै भए ।

विगत २१ वर्षदेखि सांगीतीक साधनामा लागेका शिव, कारोनाका कारण ठप्प सांगीतीक क्षेत्रमा अब कसरी अगाडि बढ्लान् ? उनको आगामी कदम कस्तो होला ? उनी के गर्दै छन् आजभोली ? अबको तयारी के छ ? नयाँ पुस्ताले गीत संगीतलाई दिएको योगदान कस्तो छ ? लगायतका विविध सवालमा उनै चर्चीत गायक शिव परियारसँग सिर्जना मिश्रले कुराकानी गरेकी छन् ।

केमा व्यस्त हुनुहुन्छ आजभोली ?

लामो समयको लकडाउनपछि ‘आँसुको अर्थ ३’ लिएर आएका छौँ । र, आउँदो महिनासम्ममा युगल गीत सार्वजनिक गर्ने तयारीमा छौँ ।

लकडाउनले पहिलाको अनुपातमा म्युजिक भिडियोहरु रिलिज गर्न सकिएन । अब सांगीतीक कामहरु पनि सुचारु भएका छन् । कोभिड १९ का कारण राज्यका सम्पूर्ण क्षेत्र र संगठनलाई असर परेको छ । त्यसभित्र संगीत पनि पर्छ । र, यो महामारीले संगीतमा उत्साहित भएर लगानी गर्ने अवस्था पनि थिएन । तर, अब काम गर्नुपर्छ भन्ने सोचले अगाडी बढेको छु । म्युजिक भिडियोको तयारी हुँदैछ ।

‘आँसुको अर्थ—३’ सार्वजनिक भएपछि स्रोताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

एकदम राम्रो प्रतिक्रिया आईरहेको छ । एक हप्ता त टे«न्डीङमै रह्यो । स्रोताले राम्रै प्रतिक्रिया दिइरहनु भएको छ ।

अनि, तपाईँ नेपालको एक चर्चित गायकका रुपमा परिचित हुनुहुन्छ । यसरी सफल भइएला भनेर सोच्नु भएको थियो ?

म पहिलादेखि नै स्कुल, कलेजमा गाउने गर्थे । अरु सबै काम छोडेर एकोहोरो संगीत साधनामै लागे । यसैलाई निरन्तरता दिए, लक्ष्य आफैं निर्धारण भयो ।

नेपाली संगीतमा नयाँ पुस्ताको आगमन पनि बढ्दैछ । नयाँ पुस्ताले सार्वजनिक गरिरहेको नयाँ रचना र संगीत कस्तो लाग्छ ?

यो समयको चक्र हो । समय परिवर्तनशील छ । हामी भर्खरको हुदाँ हाम्रो जमानाको गीतहरु चर्चामा हुन्थे । जसरी आजका पुस्ताले नयाँ टे«न्डका गीतहरु सार्वजनिक गरिरहेका छन् । नयाँ पुस्ताको प्रयास राम्रै लागेको छ । सांगीतीक क्षेत्रलाई बचाई राख्न सहयोग नै पुगेको छ ।

संगीतमै केही गर्छु भन्ने युवाहरुका लागि तपाई को सुझाव के छ ?

म त संगीत प्रेमी, संगीत साधना नै मेरो जीवन हो । पछिल्लो समय संगीतलाई व्यवसायीकरण गर्न थालिएको छ । सम्भावना पनि बढ्दै गएको छ । त्यसैले यस क्षेत्रमा लाग्ने जति पनि नयाँ युवा हुनुहुन्छ । यससँग सम्बन्धित ज्ञान आर्जन गनुहोस् । यसैलाई साधना मानेर निरन्तरता दिन सकियो भने सफल भइन्छ ।

अन्तिममा अरु केहि भन्नु छ ?

त्यहीं हो, अब नेपाली गीत संगीतलाई माया गरौँ । कलाकारको जीवनमा उतारचढाव त भइरहन्छ । लामो समयपछि स्रोता समक्ष आएका छौँ र नयाँ युगल गीत आगामी एक दुई महिनाभित्र स्रोतासमक्ष ल्याउदै छौँ । अपेक्षा छ, मनपराई दिनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्