नेकपा विवाद प्रदेशमा पनि, प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रको विवादपछि प्रतिनिधिसभा विघटन गरिएको छ । विवादकै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरु पनि थपिसकेका छन् । केन्द्रको विवादपछि नेकपा नेतृत्वमा सरकार रहेकका ६ वटै प्रदेशमा त्यसको असर देखिन थालेको छ ।

यसबीच शनिबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड—नेपाल पक्षका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएपछि अरु तीन जनाले पनि राजीनामा दिएका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले आइतबार बिहान राजीनामा दिएका छन् । वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरासहित उनीहरुले राजीनामा दिएको पत्रमा उल्लेख छ ।

योसँगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ । आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो । पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिए ।

मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् । त्यसमध्ये प्रचण्ड(नेपाल पक्षका ४७ जना र ओली पक्षका २० जना मात्रै रहेको दावी गरिएको छ ।

हिउँदे अधिवेशन माघ ७ मा

यसैबीच प्रदेश नम्बर १ सरकारले प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने गरी बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभा आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

मन्त्री कार्कीले माघ ७ गते बुधबार दिउँसो २ बजेबाट सुरू हुने गरी बैठक आह्वान गर्न आजको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्