कन्चनपुर कारगारका कैदीकाे बिजाेग



कञ्चनपुर– वर्षौँ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना राखेर बस्न बाध्य भएका छन्। 

 

भवन मर्मत नहुँदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण बन्द गर्न गाह्रो हुने गरेको उनीहरूले बताएका छन्। अर्थाभावले कारागारका जीर्ण भवन मर्मत हुननसकेको कारागार प्रमुख श्यामराज भट्टले बताए । 

 

‘भवन निकै पुरानो भएकाले छत चुहिन्छ,’ उनी भन्छन्, ‘माथिल्लो तलाबाट समेत पानी आउने भएकाले कैदीलाई बस्न निकै गाह्रो छ। उत्तर–पूर्वतर्फको बुर्जाघरमा चट्याङ परेर भत्केको धेरै भयो। मर्मत गर्ने रकम नहुँदा त्यत्तिकै छ भने महिला कैदी बस्दै आएको भान्साघरको छानासमेत खस्ने अवस्थामा छ।’ 

 

कारागार विभागबाट थोरै बजेट आउँदा उनीहरूको उपचार र खाना खर्चका लागिसमेत सो रकमले नपुग्दा मर्मतको कार्य हुन नसकेको उनको भनाइ छ। 

 

कारागारमा पुरुष ७५ र महिला २० गरी ९५ कैदी राख्ने क्षमता भए पनि अहिले पुरुष २ सय ७७ र महिला १८ गरी २ सय ९५ कैदी राखिएका र सुत्ने ठाउँकाे अभावले उनीहरु ग्यालरी र टिनसेटमा सुत्ने गरेका छन्। 

 

खानेपानीका लागि र शौचालयमा जानका लागि समेत पालो पखर्नुपर्ने अवस्था रहेको गनासो गर्दै कैदी–बन्दी भन्छन, ‘निकै कष्ट सहेर बाँच्नुपरेको छ। सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसिएको छ।’

 

कैद मुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालिमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने उनीहरूको माग छ। विसं २०३२ मा स्थापना भएको कारागार पाँच बिघा क्षेत्रफलमा फैलिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्