भुमीहिनलाई जग्गाको मालिक बनाउन सरकारले काम गरिरहेकोे छ– राज्यमन्त्री राना



इलामः प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउन सरकारले काम गरिरहेको बताएका छन् ।

शनिबार इलाममा आयोजित भूमिहीन दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासको विवरण र तथ्यांक संकलन इकाई कार्यालयको उद्घाटन कार्यक्रममा राज्यमन्त्री रानाले ७२ प्रतिशत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबास भएका नगरका बासिन्दाहरुले अब आफ्नो स्वामित्वमा धनीपुर्जा पाउने बताए ।

संघीय सरकारले स्थापना गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगको मातहत रहेर स्थानीय, प्रदेश र सरकारको समन्वयमा प्रदेश भरीका भुमीहिनलाई धनीपुर्जा दिनका लागि प्रक्रिया सुरु भएको पनि त्यस अवसरमा जानकारी दिइयो ।

इलामको माईमा ७२ प्रतिशत क्षेत्र अब्यबस्थित रहेको छ भने माई नगरपालिकामा ९ सय ५७ घरपरिवार सुकुम्वासी र ३ हजार २ सय ३८ घरपरिवार अव्यवस्थित रूपमा बसोबास गरिरहेको जनाइएको छ ।

सुकुम्वासी र अव्यवस्थित गरी चार हजार १ सय ९५ घरपरिवार सुकुम्वासी रहेको प्रदेशको तथ्याङ्कमा उल्लेख छ । सरकारले भूमिसम्बन्धी ऐन २०२१ को आठौं संशोधनपछि नियमावलीको १८ औं संशोधनका आधारमा नौ वटा कार्यविधि तयार पारेर काम थालेको बताईएको छ । यसका लागि आगामी फागुनसम्ममा लगत संकलन गरिने जनाइएको छ ।

अव्यवस्थित रूपमा बसोबास भएकालाई सेतो र दलित तथा व्यवस्थित रूपमा बसि आएका तर लालपुर्जा नपाएका सुकुम्बासीलाई रातो रङ्गको फारम भराइने छ ।

प्रतिक्रिया दिनुहोस्