धनगढी प्रहरी हत्या प्रकरण : मुख्य अभियुक्त पक्राउ



धनगढी : धनगढी–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इञ्चार्ज प्रहरी साहयक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउत हत्या घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् ।

गत कात्तिक १ गते राति प्रहरी साहयक निरीक्षक विक र प्रहरी जवान साउतको हत्या गरी फरार भएका धनगढी उपमहानगरपालिका– १० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि भारतमा लुकेर बस्दै आएका रानालाई नेपालतर्फ आइरहेका बेला आइतबार राति धनगढी– १९ फूलबारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बताए ।

पक्राउ परेका रानालाई प्रहरीले आजै अदालतमा पेस गर्ने तयारी गरेको छ ।

राति गस्तीमा गएका साउद र विकको हत्या नेपालबाट भारततर्फ केराउ तस्करी गर्ने समूहले गरेको खुलेको थियो । हत्या अभियोगमा पक्राउ परेका आठजना अभियुक्त पुर्पक्षका लागि यसअघि नै कारागार चलान भइसकेका छन् ।

धनगढी–१०, का पर्कु भनिने ३१ वर्षका रोहित राना, २० वर्षका राजेन्द्र राना, चोर भनिने ३० वर्षका सुरेश राना, गब्बर भनिने २५ वर्षका राजकुमार राना र २२ वर्षका रामनिवास राना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

यस्तै, हत्याका अभियुक्त टल्लु भनिने २९ वर्षका दलराम राना, गोपाल भनिने २५ वर्षका रामगोपाल राना र २० वर्षीय रोहित राना पनि कारागार चलान भएका छन् । उनीहरू घटनालगत्तै पक्राउ परेका थिए ।

प्रहरी हत्या घटनासँग जोडिएको मटरको तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी राजीव गुप्ता भने एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

प्रकाशित : पुस १३, २०७७

प्रतिक्रिया दिनुहोस्