
काठमाडौंः नेपाल टेलिकम र काठमाडौं-तराई-मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउने सम्झौता सम्पन्न भएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानसहित शुक्रवार एक सहमति भएको टेलिकमले जनाएकाे हाे ।
नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौतामा हस्ताक्षर भएको छ ।
राजधानीलाई मधेशसँग जोड्ने निकै छोटो (७२.५ किमी) सडकमा विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख भएको टेलिकमले जनाएको छ ।
अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ ।
त्यसका लागि लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्ने साथै अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीको तर्फबाट निरन्तरता दिने टेलिकमले जानकारी दिएको छ ।
प्रकाशितः १३ पुष, २०७७