प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदलाई सोधियो स्पष्टीकरण



काठमाडौं: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण सोधिएको छ ।

नेकपा ओली समूहमा रहेका प्रदेशका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने प्रदेशसभा सदस्यहरुलाई सोमबार स्पष्टीकरण सोधेका हुन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने र पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न राजभण्डारीले पत्राचार गरेका हुन् । संसदीय दललाई जानकारी गराउनु भन्दा पहिले नै संसद् सचिवालयमा ३७ जना सांसदहरुले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

संसदीय दलमा छलफल नगरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएकाले प्रस्ताव फिर्तासहित स्पष्टीकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक राजभण्डारीले जानकारी दिए । स्पष्टीकरण नदिनेलाई संविधान, राजनीतिक दल सम्बन्धी ऐन, कानुन र दलको विधान बमोजिम कारबाही हुने पत्रमा उल्लेख छ ।

नेकपाका ६७ प्रदेशसभा सदस्यमध्ये ३७ जनाको हस्ताक्षरसहित आइतबार प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासको प्रस्ताव दर्ताको तयारी भइरहेको जानकारी पाएपछि मुख्यमन्त्री राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरिदिएका थिए भने भोलिपल्ट आइतबार सामाजिक विकासमन्त्री जीवन घिमिरे र दुई राज्यमन्त्रीले राजीनामा दिएका थिए ।

प्रकाशितः १३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्