प्रधानमन्त्रीले कायरझैं संसद विघटन गरेः नेता थापा



काठमाडौंः नेपाली कांग्रेसका नेता गगन थापाले संसदमा अविश्वास प्रस्ताव सामना गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नै भंग गरेको आरोप लगाएका छन् ।

मंगलबार बिहान नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले संसदको सामना गर्न नसकेर प्रधानमन्त्री ओली कायरझैं भागेको बताए।

संसदको सामना गर्न नसकेर कायरजस्तो भागेर सडकमा क्रान्तिकारीजस्तो बन्न खोजेको आरोप लगाउँदै नेता थापाले संसद फेस गर्न नसक्ने र अविश्वास फेस गर्न नसक्नेहरुले ठूलो कुरा गर्न नसुहाउने बताए ।

प्रतिनिधिसभा भंग हुनु असंवैधानिक भएको बताएका थापाले अब अदालतले न्याय दिनुपर्ने धारणा राखे । ‘अदालतको चार किल्लाभित्र न्याय र विवेकको हत्या नहोस्,’ थापाले भने, ‘संविधानमा लेखेको कुरा मात्रै अदालतले हेरे पुग्छ।’

बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने नजिर स्थापना भएमा भोलिका दिनमा पनि सनकका भरमा प्रधानमन्त्रीले संसद भंग गरिदिने पनि थापाले बताएका छन्।

विगतमा संसद भंग गरेका प्रधानमन्त्रीहरूले राजीनामा दिएको उल्लेख गर्दै थापाले प्रधानमन्त्री ओलीले राजीनामा नदिएर अझै मन्त्रिपरिषद विस्तार गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्