कैलाली : बलात्कार र अन्य प्रकारका यौनजन्य हिंसा बढिरहेको समयमा नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी अभियान’को आइतबार बिहानबाट सञ्चालन गरेको छ । केन्द्र सरकारको निर्णय अनुसार शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि भन्दै सञ्चालित कार्यक्रमको मुलुकभर एकसाथ शुरु गरिएको छ ।
यता सुदुरपश्चिम प्रदेशमा धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा एक भव्य समारोहकाबीच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अभियानको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले समाज फेरिएसँगै अपराधको दायरा पनि बढदै गएकोले प्रहरी र अन्य सबै पक्षले आफूलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए । उनले अपराध नियन्त्रण र शान्ती सुरक्षा गर्ने कार्य प्रहरी एक्लैको नभर्इ सबैको दायित्व हुने बताए ।
सोही कार्यक्रममा बोल्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले पछिल्ला दिनहरुमा नेपाल प्रहरीको भूमिकाप्रति असन्तुष्टी जनाए । उनले भने, 'पछिल्ला समयमा अपराध अनुसन्धान राम्रो नभएको जनगुनासो बढेको छ त्यसमा प्रहरीले सचेतता अपनाउनु जरुरी छ ।'
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शरद केसीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक विक्रम चन्दले कार्यक्रमको उदेश्य माथि प्रकाश पारे ।
कार्यक्रममा जिल्ला समन्वय समिती कैलालीका प्रमुख सुर्य वहादुर थापा,धनगढी उपमहानगरपालीकाका प्रमुख नृप वड लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रहरीका अनुसार यो अभियान निजी क्षेत्र, विद्यालयहरु र सामुदायिक संस्थाहरुसँगको समन्वयमा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन हुने छ । नेपाल प्रहरीले ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ समुदाय–प्रहरी साझेदारी अभियान सुरु गरेको हो ।