२०२० मा ५० जना पत्रकारको हत्या



काठमाडौंः सन् २०२० मा विश्वभर ५० जना पत्रकार एवं सञ्चारकर्मीको हत्या भएको छ ।

रिपोर्टर्स विथाउट बोर्डर्सले आज वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकमा भएको उल्लेख गरेको छ ।

प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमूलक समाचार लेख्ने पत्रकारहरू बढी प्रभावित भएको औँल्याएको छ । हत्याका घटना विशेष गरेर मेक्सिको, भारत र पाकिस्तानमा भएको भन्दै त्यहाँका घटनाबारे धेरै चर्चा प्रतिवेदनमा गरिएको छ ।

पत्रकार हत्यासम्बन्धी घटनामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध भएको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष सन् २०१९ मा यस्ता घटना ६३ प्रतिशत मात्रै रहेको बोर्डर्सले जनाएको छ ।
रिपोटर्स विथाउट बोडर्सका प्रधान सम्पादक पौलिन अडेस मेभेलले भने-‘यस संस्थाले लामो समयदेखि वार्षिक रूपमा यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ, तर यस्तो अवस्था कमै मात्रै देखिएको थियो ।’ सबैभन्दा धेरै पत्रकारको हत्या मेक्सिकोमा भएको छ ।

मेक्सिकोमा ८ जना पत्रकारको हत्या भएको छ । उनीहरूको हत्या विशेष गरेर लागुऔषध ओसारपसार र राजनीतिक घटनासँग सम्बन्धित भएको उल्लेख छ । मेक्सिकोमा भएको हत्यामा संलग्नमध्ये कसैलाई कारबाही भएको छैन । अफगानिस्तानमा द्वन्द्वका क्रममा ५ पत्रकारको हत्या भएको छ । शान्तिवार्ताको प्रयास भइरहे पनि अफगानिस्तानमा लामो समयदेखिको द्वन्द्व कायमै छ । विश्वभरि अघिल्लो वर्ष सन् २०१९ मा ५३ जना पत्रकारको हत्या भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण हिंसात्मक घटना कम भएको, पत्रकारहरू कार्यक्षेत्रमा कम गएकोलगायतका कारणले कमी आएको हुन सक्ने बोर्डर्सले जनाएको छ ।

प्रकाशितः १४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्