गोरखा पत्रका महाप्रबन्धक पदमुक्त, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत



काठमाडौं : मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त  गरेको छ । आइतबार बालुवाटारमा बसेको बैठकले महाप्रबन्धक उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 

 

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने मित्र राष्ट्र कतार भ्रमण स्वीकृत गरेको छ । 

 

राष्ट्रपति भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा यही कात्तिक १२ देखि १५ गतेसम्म प्रतिनिधिमण्डलका साथ त्यहाँको भ्रमण गर्दै छन्। 

 

। नेपाल–कतारबीच द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्ने सो भ्रमणको मुख्य उद्देश्य रहेको छ । 

 

उक्त अवसरमा कृषि तथा पशुपक्षी विकाससम्बन्धी, स्वास्थ्यसम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी तथा दुवै देशका कूटनीतिक राजदानी वाहकका लागि प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर हुने तयारी छ ।

 

 बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टलाई नेपाल–मलेशिया सरकारबीच कामदार आपूर्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए। 

सोमबार श्रममन्त्री विष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानबीच सो सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ । मन्त्रिपरिषद्को बैठकले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्