निर्वाचनमा शंका गर्नु पर्दैन: अर्थमन्त्री पौडेल



पर्सा: नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले ताजा जनादेशका लागि मुलुक चुनावमा गइरहेकाले चुनावको तयारीमा जुट्न अगुवा नेता कार्यकर्तालाइ निर्देशन दिएका छन् ।

बैशाख १७ र २७ मा संसदको निर्वाचन हुने निश्चित भएकाले यसमा शंका उपशंका नगरी निर्वाचननको तयारीमा अहिलेदेखि नै लाग्न महासचिव पौडेलले निर्देशन दिए ।

वीरगन्जमा बुधबार नेकपाको केपी शर्मा ओली समूहले आयोजना प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले तोकेकै मिमिमा निर्वाचन गर्ने दृढ्ता व्यक्त गरे । उनले संसद बिघटन र चुनावको मिति घोषणा गर्ने सरकारको निर्णय संविधान सम्वत र लोकतान्त्रिक रहेको दाबी गरे ।

संसदका बहुमत सदस्यको साथ लिएर प्रधानमन्त्री ओलीले गरेको निर्णयलाइ न्यायलयले पनि सदर नै गर्ने भएकाले तोकिएको मितिमै निर्वाचन हुने ठोेकुवा उनले गरे । सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगले पनि बैशाख १७ र २७ मा निर्वाचन गर्न कुनै बाधा र अवरोध नभएको प्रतिबद्धता जनाइ सकेको पनि मन्त्री पौडेलले बताए ।

ताजा जनादेशका लागि सार्वभौम जनताकोबीचमा जाने प्रधानमन्त्री ओलीको कदम लोकतन्त्रको सुन्दरतम पक्ष भएको उनको भनाइ थियो । राष्ट्र र जनताको हितमा काम गरिरहेको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने षडयन्त्र आफनै पार्टी भित्रबाट भएपछि उक्त षडयन्त्रलाई विफल पार्न प्रधानमन्त्री ओलीले बाध्य भएर संसद बिघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय गर्नु परेको पौडेलले बताए ।

पार्टी मात्र नभई मुलुककै अस्तित्व खतरामा परेपछि यो कदम अपरिहार्य थियो भन्दै उनले पार्टी बाहिरका शक्तिको साथ लिएर प्रचण्डले पार्टी र सत्ता कब्जामा लिने षड्यन्त्र गरेकाले ओलीले उक्त षड्यन्त्र विफल पारिदिएको पौडेलको जिकिर थियो ।

भदौंको स्थायी समिति बैठकमा प्रचण्डले पार्टी अध्यक्ष एपम् प्रधानमन्त्री ओली विरुद्ध पेश गरेको १८ पृष्ठको कथित आरोपपत्र नै पार्टी विभाजनको आधार बनेको उनको दाबी थियो । उनले भने,‘जबसरकारले राम्रो काम गर्न थाल्यो तब पार्टीकै केही शीर्ष नेताले पद र कुर्सीका लागि खुट्टा तानेर प्रधानमन्त्री ओलीलाई काम गर्न दिएनन्, त्यसैको क्षति अहिले पार्टीले व्यवहोर्नु परिरहेको छ ।’
भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री प्रभु साहले प्रचण्डको निजी स्वार्थका कारण नेपालबाट माओवादी पार्टीको नाम निशान हराएको आरोप लगाए । प्रचण्डको पारिवारिक र सत्ता मोहका कारण नै नेपालको राजनीतिमा माओवादीको नाम निशान नरहेको साहले बताए ।

कानुनमन्त्री लीलानाथ श्रेष्ठले विदेशी शक्तिको गोटी बनेर नेकपा भित्रै केही नेताले कम्युनिष्ट नेतृत्वको दुई तिहाइको सरकार ढाल्ने षडयन्त्र गर्दा देश अहिलेको विषम परिस्थितिमा पुगेको बताए । उनले प्रधानमन्त्री ओली मुलुककै ऐतिहासिक, साहसी र राष्ट्रवादी वीर पुरुष भएको जिकिर गरे ।

महिला बालबालिका तथा समाज कल्याण्मन्त्री जुली कुमारी महत्तोले पनि संसद पुनस्र्थापनाको सपना नदेख्न आन्दोलनमा रहेका दलहरुलाई आग्रह गरिन् । उनले भनिन्,‘विघटित संसद कुनै हालतमा पुनस्र्थापना हुन सक्दैन, विघटनको निर्णय कसैले पनि उल्टयाउन सक्दैन ।’
नेकपा पार्टी विभाजनको सन्देश र कार्यकर्तालाई निर्वाचनको तयारी जुटन निर्देशन दिन ओली समूहले वीरगन्जमा प्रदेश भेला आयोजना गरेको हो । नेकपा स्थायी समितिका सदस्य एवम् प्रदेश २ का संयोजक सत्यनारायण मण्डलको अध्यक्षतामो प्रदेश स्तरीय भेला सम्पन्न भएको हो ।

प्रकाशितः १५ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्