दलको शक्ति प्रदर्शनले कोरोना डराउँदैन !




काठमाडौं : विश्वलाई नै त्राहिमाम बनाएको कोरोना भाइरस (कोभिड-१९) झण्डै एक वर्ष वित्न लाग्दा पनि नियन्त्रणमा आउन सकेको छैन । कयौं वैज्ञानिक र विशेषज्ञहरुले यसलाई रोक्न खोपको विकास गर्नेदेखि अरु अनेक उपाय खोजिरहेका भएपनि कोरोनाले रुप फेरि-फेरि झन् विश्वलाई त्रसित मात्रै बनाइरहेको छैन, यसले धेरैको ज्यान पनि लिइरहेकै छ ।

विश्वका शक्तिशाली मानिएका अमेरिका, चीन, बेलायत र रुस जस्ता मुलुकलाई समेत ढलपल बनाएको कोरोनाले नेपाललाई अछुतो छाड्ने त कुनै भएन, जुन कुरा सर्वविदित्तै छ । वर्तमान अवस्था हेर्दा खोप प्रभावकारी हुँदै गएपछि शक्तिशाली राष्ट्रहरु कोरोनालाई हातमा लिन केही हदसम्म सफल भएका भएपनि नेपाल जस्तो अल्पविकसित मुलुकको पहुँचमा तत्काल कोरोनाविरुद्धको खोप पुग्न सक्ने अवस्था देखिँदैन । यसले के संकेत गर्छ भने नेपाल र नेपालीले कोरोनाबाट मुक्ति पाउन अझै निकै समय कुर्नुपर्छ ।

यसप्रति न सरकार गम्भीर छ, न सर्वसाधारण सचेत छन् १ सरकारको गम्भीर्यता नभएको र सर्वसाधारण जनताले सजगता नअपनाएको कुरा पछिल्लो समय राजनीतिको नाममा देशव्यापी रुपमा भइरहेको भीडभाडमय प्रदर्शनले पुष्टि गर्छ ।

जब असंवैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे, त्यसलगत्तै स्वयम सरकार आफै, अन्य राजनीतिक दल, पार्टीको नेता-कार्यकता सबैले कोरोना संक्रमणका लागि पालना गर्नुपर्ने नियम र मापदण्डलाई बिर्सेको देखिन्छ । प्रधानमन्त्रीले संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा परेको आरोप लाउँदै विरोध प्रदर्शन गर्नेको भीड अहिले सानो छैन ।

नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका नेता तथा कार्यकर्तादेखि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टीलगायत धेरै जसो राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले समेत विरोधका नाममा सडकमा भीडभाड गर्ने र गराउने गरेका देखिन्छन् ।

एक्लौटी रुपमा संसद विघटन गरेर लाखौंलाई सडकमा उतारेका स्वयम प्रधामन्त्री केपी शर्मा ओली पक्ष पनि यस मामिलामा कम देखिएको छैन । आफूले चालेको कदम गलत होइन भनेर देखाउनैका लागि भएपनि ओली समूहका नेता-कार्यकतासमेत अन्य राजनीतिक दलकै लयमा देखिन्छन् ।

के भन्छन् विशेषज्ञ ?
पछिल्लो समय देशव्यापी रुपमा भइरहेको सडक आन्दोलन र विरोधसभाका क्रममा देखिएको भीडभाडले फेरि भयावह अवस्था आउन सक्दैन भन्न सकिने अवस्था नरहेको विशेषज्ञहरु बताउँछन् ।

अहिले सरकारी तथ्यांक हेर्दा कोरोना संक्रमण दरको ग्राफ ओरालो लागेको देखिन्छ, भने मृत्युदर पनि केही कम भएको देखिन्छ । जुनसुकै कारणले कोरोना संक्रमण र मृत्युदर कम हुँदै गएको देखिए पनि सतर्कता र सजगता कम हुनु नहुनेमा जनस्वास्थ्यविद्हरुको जोड छ ।

जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तले कोरोना संक्रमणको जोखिम अहिले पनि विद्यमान रहेकाले बेवास्ता गर्न नहुने बताउनुभयो । ‘हामी यसबाट मुक्त भएका छैनौं, संक्रमणदर अहिले पनि विद्यमान र विस्तार हुने सम्भवना उच्च छ,’ द नेपाल टपसँग डा. वन्तले भने, ‘त्यसकारण अहिले पनि हामी जनस्वास्थ्यका सुरक्षाका प्रावधानहरुलाई लापरबाही र बेवास्ता गर्ने बेला पटक्कै होइन ।’ यसबारे अन्य देशबाट पनि पाठ सिकेर सजगता अपनाउनुपर्ने जनस्वास्थ्यविद् डा. वन्तको भनाइ छ ।

‘यसबारे हामीले अन्य देशहरुबाट पनि पाठ सिक्नुपर्छ,’ उनले थपे, ‘अरु देशमा पनि संक्रमण अब चाँही नियन्त्रण भयो होला भन्नेबला फेरि ह्वात्तै बढेको हामीले देखेका छौं । त्यो स्थिति नेपालमा नआउला भन्न सकिँदैन ।’ कोरोना संक्रमणको मापदण्डलाई पालना गर्न नसकिए र त्यसलाई प्रभावकारी ढंगले अभ्यास नगरिए नेपालमा अझै बढ्ने डा. वन्तको चेतावनी छ ।

पछिल्लो समय नेपालमा जे कारणले भीडभाडको अवस्था सिर्जना भएको भएपनि यसले नेपालमा ठूलो जोखिम नित्याएको उनको भनाइ छ । ‘पछिल्लो समय राजनीतिक, सामाजिक, वा हाम्रो आफ्नै व्यक्तिगत विचार जे कारणले भीडभाडको स्थिति सिर्जना भइरहेको छ, यसबेला हामीले सुरक्षाको प्रावधानलाई अबलम्बन गर्न सकेनौं भने संक्रमण अझ विस्तार हुने कुरालाई नकार्न सकिँदैन’ उनले भने ।

जनस्वास्थ्यविद प्रा.डा. शरद वन्त

कोरोना संक्रममणबाट बच्ने मुख्य विधि नै भीडभाडमा नजाने र नगर्ने, मास्क, सेनिटाइजरको प्रयोग अनिवार्य लगायत भएपनि अहिले सबैले यसको पालना गर्न छाडेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान इकाई प्रमुख डा. शेरबहादुर पुन बताउँछन् ।

‘भीडभाड नगरौं, सकेसम्म सामाजिक दूरी कायम गरौं, मस्क र सेनिटाइजर अनिवार्य प्रयोग गरौं भनेर त हामीले पहिल्यैदेखि भन्दै आएको छौं ।’ द नेपाल टपसँग डा. पुनले भने, ‘तर अहिले बाहिर सडकमा जुन स्थिति देखिएको स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट यो बिलकुल ठिक होइन ।’ डा. पुनले लामो समय सर्वसाधारण बन्दी भएर बस्नुपरेको र अहिले कोरोनाबाट आजित भइसकेकाले सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पालना गर्न छाडेको जस्तो देखिएको बताए ।

‘लामो समय सर्वसाधारण घरभित्र थुनिएर बस्नुपर्ने अवस्था आयो, कोरोनाको कुराले पनि आजित हुँदै गए’ उनले थपे, ‘त्यसकारण अहिले नागरिकले अलि बेवास्ता गरेको जस्तो लाग्छ ।’ महामारी जस्तो कुरालाई बेवास्ता गर्न भने नहुने डा. पुनले बताए । कम्तिमा बाहिर डिँड्डुल गर्दा सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न उनको सुझाव छ ।

संक्रमणदर घट्नुको यस्तो छ कारण
चीनको वुहान शहरबाट गत डिसेम्बरयता सुरु भएको कोरोना भाइरसको संक्रमण माघ १० गते नेपालमा पहिलो पटक पुष्टि भएको थियो । त्यसयता नेपाल अहिलेसम्म २ लाख ६० हजार बढी संक्रमित भएका छन् । त्यसमध्ये करिब २ लाख ५२ हजार जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने एक हजार ८ सय बढीको मृत्यु भइसकेको छ ।

तर पछिल्लो समयको तथ्यांकले अहिले नेपालमा कोरोना संक्रमणदर ह्वात्तै घटेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन अध्यावधिक गर्ने तथ्यांकमा पछिल्लो समय संक्रमण दर ह्वात्तै घटेको देखिएको छ ।

संक्रमणदर कम देखिनुमा सम्भावित दुई कारण रहेको विशेषज्ञ डा. शरद वन्त बताउँछन् । ‘यसका मुख्य दुई कारण हुन सक्छन्’ डा. वन्तले भने, ‘पहिलोः कोरोना भाइरस उत्कर्षमा पुगेर त्यसको तेज आफै घट्दै गई संक्रमणको गति नै कम हुनु, दोस्रो कोरोना परीक्षणको दायरा नै घट्नु अथवा संक्रमण फैलिएको क्षेत्र पहिचान गर्न नसक्नु । यी कारणले अहिले संक्रमणदर घटेको देखिएको हुनसक्छ ।’

अहिलेसम्मको वैज्ञानिक तथ्यहरुलाई हेर्दा महामारीका रुपमा फैलिएको कुनै पनि भाइरसको एकैनासले शक्तिशाली भइनरहने उनले बताए । डा. वन्तले थपे, ‘संक्रमणदर घट्नु र संक्रमितको संख्या घट्नु उस्तै होइन । त्यसकारण संक्रमणदर घटेपनि संक्रमितको संख्या बढिरहेकै पनि हुनसक्छ । हामले संक्रमितको पहिचान गर्न नसकेको पनि हुनसक्छौं ।’ संक्रमणदर घटेको देखिएपनि नेपाल संक्रमणको जोखिमबाट मुक्त भने भइनसकेको उनको भनाइ छ ।

डा.शेरबहादुर पुनले पनि डा.वन्तको भनाइमा समर्थन जनाउँदै संक्रमणदर कम देखिनु तथ्यगत यथार्थ नभएको बताए । ‘पहिलो कुरा त परीक्षण दर नै घटेको र कन्ट्याक ट्रेसिङ छैन र अर्को चाँही स्वभाविक रुपमा कुनै पनि महामारीको गति एउटै रफ्तारमा रहिरहँदैन । अहिले संक्रमण दर घट्नुको यही दुई कारण हुन सक्छ ।’

शुक्रराज ट्रपिकल अस्पतालका क्लिनिकल अनुसन्धान काइ प्रमुख डा.शेरबहादुर पुन

सरकारी तथ्यांकले अहिले संक्रमण दर घटेको देखाएपनि ढुक्क भएर लापरबाही गर्न नहुने जनस्वास्थ्यविद्हरुको सुझाव छ । पछिल्लो समय देशव्यापी रुपमा भइरहेको राजनीतिक दलहरुको विशाल शक्ति पदर्शनले कोरोना भाइरस डराएर भाग्ने अवस्था नरहेको विशेषज्ञहरुको टिप्पणी छ ।

प्रकाशितः १५ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्