कांग्रेसभित्र दुईटा प्रष्ट वैचारिक धार



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा आलीले २०७७ पुस ५ गते अचानक संसद विघटन गरेपछि त्यही दिन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भनेका थिए, ‘प्रधानमन्त्रीको कदमलाई कांग्रेसले राजनीतिक रूपमा प्रतिवाद गर्नेछ ।’ यत्ति मात्र नभई उनले ओलीको अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने पनि बताएका थिए ।

प्रधानमन्त्रीको हठात् कदमविरुद्ध कांग्रेसका नेताहरुले त्यस दिन दिएका अभिव्यक्तिलाई आधार मान्ने हो भने प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनामा जाने सरकारको घोषणाविरुद्धको मुख्य प्रतिद्वन्द्वी कांग्रेस नै हो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भएको सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका दोस्रो तहका सबैजसो नेताले आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । संसदमा प्रतिपक्षको सशक्त भूमिका खेल्न नसकेको भनेर टिप्पणी भइरहेका बेला संसद नै विघटन भएको दिन चाँही कांग्रेसले साँच्चै प्रतिक्षी दलकै व्यवहार देखाएको थियो ।

सभापति देउवाले भनेका थिए, ‘प्रधानमन्त्री यो कदमप्रति हाम्रो गम्भीर असहमति छ । यो कदमको राजनीतिक प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’

वरिष्ठ नेता पौडेलले पनि राष्ट्रहित विपरीतको प्रतिगामी कदम भन्दै त्यसविरुद्ध कांग्रेस उभिने बताएका थिए ।

युवा नेता गगन थापाले यी अवस्था सिर्जना हुनुमा नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमाथी दोष थोपर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमेत देशको राष्ट्रपति नभई केपी ओली गुटको सदस्य भएको टिप्पणी गरेका थिए ।

कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले पनि खुलेरै त्यसको विरोध गरेको थिए, तर कांग्रेस त्यस दिनको अडानमा टिकिरहने सकेन । संसद विघटनको डेढ हप्ता वित्दै गर्दा मध्यावधी निर्वाचनलाई लिएर कांग्रेसभित्र प्रष्ट दुई वटा वैचारिक धार देखिएको छ ।

सत्तारुढ नेकपा विवादमा रुमलिएर दुई चिरा भएको बेला निर्वाचनमा गयो भने कांग्रेसलाई जनताले पत्याउँछ भन्ने आशामा संस्थापन पक्षका नेताहरुले निर्वाचनबाट पछि हट्नु हुन्न भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका देखिन्छन् । तर संस्थापनइतर पक्षका नेताहरु त्यसको विरुद्धमा देखिएका छन् ।

सभापति देउवानिकट केही नेताहरुले खुलेरै यसको चर्चा गर्ने गरेका छन् भने कतिपयले मौन सर्थन जनाएका छन् ।

कांग्रेसका कुन नेता, के भन्छन् ?
कांग्रेसका अधिकांश नेताहरुले संसद विघटनलाई असंवैधानिक भनेर विरोध गर्ने गरेको भएपनि निर्वाचन घोषणाको खुलेर विरोध भने गरेका छैनन् ।

पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेलबाहेक उनीनिकटकै नेताहरुले समेत निर्वाचनको घुमौरो पाराले समर्थन गर्न थालेका छन् । पौडेलनिकट मानिएका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कांग्रेस संसद विघटनको विक्षमा छ भनेर पौष १३ गते देशभर गरेको प्रदर्शनले नै पुष्टि गरिसकेको तर्क गरे ।

पूर्वमन्त्री समेत रहेका नेता जोशीले द नेपाल टपसँग भने, ‘कांग्रेस जब असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा ओर्लियो, पदाधिकारी र केन्द्रीय समिति बसेर यो संविधानमाथीको आक्रमण हो भनेर ‘पोलिटिकल एक्सन’मा देखियो यसले पुष्टि गरिहाल्यो नि ।’ उनले संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउन कांग्रेस आन्दोलनमा होमिएको बताए ।

नेता जोशीले शक्तिको मुख्य स्रोत नै जनता भएकाले निर्वाचनबाट भने कांग्रेस नभाग्ने बताएका छन् । ‘निर्वाचनबाट हामी भाग्दैनौं, तर संविधान र लोकतन्त्र खतरामा परेकाले त्यसलाई ठिक ट्रयाकमा ल्याउन हामीले आन्दोलन गरेका हौं’ उनले भने । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि त्यही संसद विघटन गरेर घोषणा गरिएको मध्यावधि निर्वाचनलाई भने कांग्रेसले स्वीकार गरेको देखिन्छ ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई न्यायपालिकाले करेक्सन गर्ने कांग्रेसका अर्का केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीको विश्वास छ । आफूहरु सर्वोच्चको आदेशको प्रतिक्षामा रहेको बताउँदै उनले न्यायपालिकाले नै निर्वाचनतर्फ मुलुकलाई डोर्याए जनताले आफ्नो शक्ति प्रयोग गरेर सही व्यक्तिलाई सत्तामा पुर्याउने बताए ।

‘न्यायपालिकाले यसको करेक्सन गर्छ, उसले अब कसरी अघि बढ भन्छ हामी त्यतै अघि बढ्छौं ।’ उनले भने, ‘त्यही जनमतलाई मानेर हामीले अहिलेका सबै उपलब्धि प्राप्त गरेको हौं । त्यसैले जनतामा जानुपर्छ भन्ने कुरा गलत होइन ।’ नेता भण्डारीले सरकारलाई सजग गराउन अहिले विरोध प्रदर्शनमा कांग्रेस निस्केको बताए ।

उनले थपे, ‘भोलिका दिनमा पनि यस्तो घट्ना नघटोस् भनेर सरकारलाई सजक गराउन र जनताले पनि यो कुरा बुझुन भनेर हामीले आन्दोलन गरेका हौं ।’ अब जनताले पनि गैरजिम्मेवार मान्छे सरकारमा भए भने के हुँदो रहेछ भनेर बुझेको नेता भण्डारीको भनाइ छ ।

मध्यावधि निर्वाचनबारे कांग्रेसमा वैचारिक दुई धार देखिएको बेला कांग्रेस प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले भने पार्टीमा मतैक्यता रहेको जिकिर गरेका छन् । द नेपाल टपसँगको संक्षिप्त कुराकानीमा प्रवक्ता शर्माले भने, ‘पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहेको छ । संसद विघटन असंवैधानिक भनेरै त्यसैअनुसार देशभर प्रदर्शन भएको हो ।’

संसद विघटन भएकै दिन यो असंवैधानिक र अलोतान्त्रिक कमद हो भन्ने निष्कर्ष निकालेको र अबको केन्द्रीय समितिले विरोधका थप कार्यक्रमहरु सार्वजनिक गर्ने उनले बताए । कांग्रेसको केन्द्रीय समिति बैठक यही १९ गते बस्ने तय भएको छ ।

कांग्रेसले निर्वाचनमा जाने मनसाय व्यक्त गरिरहेका बेला नेकपाकै प्रचण्ड-माधव समूह भने यसविरुद्ध डटेर लागेको छ । कांग्रेसको अबको बाटो सर्वोच्चमा विचाराधीन संसद विघटनविरुद्धको मुद्धाको फैसलाले नै तय गर्ने नेताहरुको अभिव्यक्तिले संकेत गर्छ ।

प्रकाशितः १६ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्