नेकपा पार्टी विभाजनको प्रभाव जिल्लामा, कित्ताकाट सुरु



इलाम : नेपाल कम्युनिस्ट पार्टी(नेकपा) औपचारिक विभाजनको दिशामा गएपछि यसको असर जिल्ला तहमा पनि देखिन थालेको छ ।

औपचारिक पार्टी विभाजनको घोषणा नहुँदै जिल्ला तहमा कित्ताकाट सुरु भएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूह र प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको समूहले फरक फरक पार्टी भेलाको अभ्यास थालेपछि दुवैतर्फको राजनीतिक क्रियाकलाप पालिका स्तरमा पुगेको छ । इलाम प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल र ओली समूहमा खुलेका नेता सुवास नेम्वाङको गृहजिल्ला हो । यी दुवै नेता आफ्नो समूहलाई बलियो पार्ने धाउन्नमा छन् ।

प्रचण्ड–माधव समूहमा रहेका खनाल र ओलीसमूहका नेम्वाङको आ–आफ्नै समूह छ । इलाममा १० वटा पालिका छन् । तीमध्ये सात स्थानीय तहको प्रमुखमा नेकपाको नेतृत्व छ । नेकपाको विभाजनसँगै कतिपय पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षले कित्ताकाट गरिसकेका छन् भने केही निर्वाचन आयोग र सर्वोच्चको फैसला कुरेर बसेका छन् ।

इलाममा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता खनाल पक्षको भनिएका जनप्रतिनिधि समेत ओलीको समर्थनमा खुलेका छन् । प्रदेश १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका नेकपा इलामका अध्यक्ष राम राना र प्रदेश सभा सदस्य काजीमान कागते नेकपा ओली समूहमा खुलेका छन् ।

मुख्यमन्त्रीको चुनावपछि उनीहरू ओली पक्षमा उभिएका हुन् । त्यस अघि उनीहरु दुवैलाई खनाल निकट मानिन्थ्यो ।अर्का सांसद धीरेन्द्र शर्मा र खिनु लङ्वा नेकपा प्रचण्ड–नेपाल समूहतिर खुलेका छन् । शर्मा प्रचण्ड र लङ्वा खनाल निकट हुन् । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङ ओली समूहमा खुलेका छन् । उनीहरू पहिले पनि सोही समूहमा थिए ।

त्यस्तै, देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई ओली समूहमै खुलेका छन् । जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल पनि ओली पक्षको महाधिवेशन आयोजक कमिटीको केन्द्रीय सदस्य भइसकेका छन् । प्रदेशका चार जनामध्ये दुई समूहमा दुई–दुई जना छन् । बाम गठबन्धन हुँदै एकता भएका एमाले र माओवादीबाट सांसद र मन्त्री बने पनि पछिल्लो समय विभाजित भएका छन् ।

सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष शोभा पराजुली खनाल पक्षधर मानिन्थिन् तर पार्टी विभाजनसँगै उनी ओली समूहले बनाएको महाधिवेशन आयोजक कमिटीको केन्द्रीय सदस्य भएकी छन् । खनालको विश्वास पात्र मानिने सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राई उनकैै पक्षमा छन् । उनी बहुमत पाएर पनि ओली नालायक रहेको भन्दै प्रचण्ड–नेपाल समूह रहेको नेकपा नै आधिकारिक रहेको बताउँछन् ।

खनाल निकट रहेका सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले भने सामाजिक सञ्जाल फेसबुक मार्फत ‘म भूल गर्दिन’ मेरो बालिग मताधिकारलाई जहिले सूर्य चिन्हमा दिए र जीवनपरन्त दिने र जहाँ सूर्य त्यहि म हुन्छु भन्ने स्टाटस लेखेका थिए । उपप्रमुख दुर्गा भट्टराईले आफू नेकपाको कार्यकर्ता भएकाले अदालतको फैसला र निर्वाचन आयोगको निर्णय हेरेर अघि बढ्ने बताउँछिन् ।

माई नगरपालिकाका प्रमुख दीपक थेवे खनालबाट नगरपालिका प्रमुखको टिकट पाएका हुन् तर नेम्वाङसँगको पारिवारिक सम्बन्ध भएको कारण ओली समूहमा सघाउँछन् भन्ने चर्चा छ यद्यपि नेकपा विभाजन भएसँगै उनी कतै खुलेका छैनन् । उपप्रमुख विष्णुमाया रिमालले अदालतको निर्णयबिना केही नबोल्ने बताउँछिन् । उनले आफू बाल्यकालदेखि नै कम्युनिस्ट रहेको र पहिले अध्यक्ष ओलीलाई नै मानेको बताइन् । पार्टी एकीकरणपछि भने ओली र प्रचण्ड दुवै नेता मान्दै आएको भन्दै हिजोको अवस्थालाई हेर्दा भोलि पनि मिल्न सक्ने अवस्था आउने भएकाले अहिले चुप लागेर बस्ने बताइन् ।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई खनाल पक्षका भए पनि नेकपा विभाजनपछि उनले विचार सिद्धान्त र संस्था प्रमुख रहने भन्दै कतै खुलेका छैनन । यता, उपाध्यक्ष सावित्रा भट्टराई ओली पक्षको मानिन्छन तर उनले सूर्य चिह्नलाई समर्थन रहेको र सिद्धान्तलाई आधार मान्ने बताइन् । चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राई पनि ओली पक्षकै रहेको बताए । सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णय भन्दा अगाडि नखुल्ने बताए । उपाध्यक्ष निर्मला दाहालले हावाहुरी चलेको बेला चुप लागेर बस्ने बताइन् । उनीहरु दुवैलाई ओली पक्षधरले आफ्नो दावी गर्दै आएका छन् ।

माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता योङहाङ नेम्वाङ निकट मानिन्छ । उनी कतातिर लाग्ने हुन् हेर्न बाँकी नै छ । फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई नेकपा विभाजन हुनुभन्दा पहिले नेम्वाङ समर्थक थिइन् । एकीकरणपछि ओलीलाई नेता मानेको बताउने राईले यो बेला चुप लागेर बसेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्