आरती स्ट्रिप्सको बैंक खाता रोक्का



विराटनगर : श्रम तथा रोजगार कार्यालय विराटनगरले मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको आरती स्ट्रिप्सको सम्पूर्ण बैंक खाता रोक्का गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्र काटेको छ ।

उद्योग प्रशासनले १ सय ५० जना श्रमिकलाई बिना कारण कामबाट निस्कासन गरेपछि श्रम तथा रोजगार कार्यालयले मजदुर पुनर्बहाली नहुँदासम्म बैक खाताबाट हुने कारोबार रोक्का प्रक्रिया अगाडी बढाएको हो ।

वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलका अनुसार नेपाल कारखाना श्रमिक सङ्घले क्षतिपूर्तिसहित काम दिलाई पाऊँ भनी पुस १२ गते श्रम कार्यालयमा निवेदन दर्ता गराएको थियो । त्यसैको आधारमा आफूले आरती विरुद्ध कानूनी कारवाही प्रक्रिया बढाएकोे उनले बताए ।

‘हामीले पुनर्बहाली गर्न पठाएको पत्र आरती स्ट्रिप्सको प्रशासनले बुझ्न अस्वीकार गरेको थियो,’ उनले भने, ‘श्रमले लेखेको पत्र अस्वीकार गरेपछि उद्योग प्रशासनलाई हुलाकमार्फत् पत्र पठाएर बैंकका सबै खाताहरु रोक्का प्रक्रिया अगाढी बढाएका हौं ।’

श्रम अधिकृत सञ्जेलका अनुसार हस्ताक्षर गरेको पत्रमा निकालिएका सबै कामदारलाई पुस १४ गते ४ बजेभित्र अनिवार्य काममा फर्काउने गरी श्रम कार्यालयलाई लिखित रूपमा जानकारी गराउन आरतीलाई निर्देशन गरिएको छ । निर्देशनलाई बेवास्ता गरेमा उद्योगका सञ्चालक एवम् पदाधिकारीलाई श्रम ऐनको दफा १ सय ६७ बमोजिम कडा कारबाही गरिने चेतावनी दिइने समेत पत्रमा उल्लेख गरिएको छ ।

श्रमको पत्रमा भनिएको छ, ‘श्रमिकहरूले काम सुरु गरेकै मितिदेखि लागु हुने गरी नियुक्ति पत्र वा सम्झौतापत्र दिनू, न्यूनतम पारिश्रमिक महँगी भत्तासहित १३ हजार ४ सय ५० रुपैयाँ दिनू, दैनिक ८ घण्टाभन्दा बढी अतिरिक्त काम लगाए आधारभूत पारिश्रमिकको डेढ गुणा अतिरिक्त समय (ओटी) को व्यवस्था गर्न र आधारभूत पारिश्रमिकको १० प्रतिशत कट्टा गरी थप १० प्रतिशत कर्मचारी सञ्चय कोषको व्यवस्था गर्नु ।’

प्रकाशितः १७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्