हिन्दु राष्ट्र र राजसंस्था पुन : स्थापनाका लागि राप्रपाको प्रदर्शन



काठमाडौं : हिन्दु राष्ट्र र राजसंस्था पुन : स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको र्याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । रत्नपार्कमा भएको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गरेका छन् ।

नेपालको राजनीतिक इतिहास संकटपूर्ण घडीबाट गुज्रिरहेको उनले बताएका छन् । नेपालमा स्वाभिमान र सार्वभौमिकतामाथि प्रहार गर्ने भइरहेको बताउँदै थापाले भने,‘कहिले उत्तरबाट र कहिले दक्षिणबाट प्लेन चार्टर गरेर मान्छेहरु आइरहेका छन् ।’ केही नेताहरूको सर्वसत्तावाद लाद्ने प्रयत्न भएकाले राप्रपा आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए ।

प्रतिनिधि सभा विघटनले संवैधानिक जटिलता ल्याएको थापाको भनाइ छ । उाले भने,‘नेताहरूको कारणले मात्र यो अवस्था आएको होइन । यस्को मुख्य कारण १४ वर्ष अगाडि शुरु गरिएको विचार र बाटो गलत भएको छ ।’

देशको संकट समाधान र मुक्तिका लागि राजादेखि विप्लव माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न राजनीतिक दललाई उनले आग्रह गरे ।

नेपालको अस्तित्व कायम राख्नका लागि हिन्दु राष्ट्र कायम र राजसंस्थासहितको लोकतन्त्र नै उचित हुने उनले बताए । थापाले भने,‘यो बेला हामी टाउकोमा कफन बाँधेर आएका छौं, यस्लाई चेतावनी नसम्झिनु होला ।’

प्रकाशितः १७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्