तराइ अस्पतालको लापरवाहीले एक जनाको मृत्यु



वीरगन्ज : वीरगन्जको तराई अस्पतालको लापरवाहीले एक बिरामीको मृत्यु भएपछि घटनाको निष्पक्ष छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जको सरकारी अस्पताल नारायणी अस्पताललाई निर्देशन दिनु भएको छ ।

नारायणी यातायात ब्यवस्था कार्यालय वीरगन्ज नजिक डा। रोशन कुर्मीले सञ्चालन गरेको तराइ अस्पतालमा बिहिबार उपचारको क्रममा वीरगन्ज १६ नगवाका ४० बर्षिय अजय सरार्फको ज्यान गएको थियो ।

अस्पतालका चिकित्सकको लापरवाहीका कारण सर्राफको मृत्यु भएको उनको परिवाजनले आरोप लगाएका थिए । ग्यासट्रिको सामान्य समस्या भई बिहीबार विहान आफै मोटरसाइकल चलाएर उपचारका लागि अस्पताल पुगेका सर्राफको चिकित्सकहरुको लापरवाहीका कारण मृत्यु भएको परिवारजनको दाबी छ ।

ग्यासको पीडा सहन नसकेर उनी आफै मोटरसाइकल चलाएर उपचारका लागि बिहीबार विहान ४ बजे अस्पताल पुगेका थिए । उनलाई अस्पतालका आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरुले गलत औषधि चलाएको कारण एक घण्टा नवित्दै मृत्यु भएको मृतकका छोरा उत्तम सर्राफले आरोप लगाए ।

उत्तमले भने, अस्पताल आउँदा बुवाको अवस्था बिग्रिएको थिएन, अस्पतालमा आफै हिडेर आकस्मिक कक्षसम्म पुग्नुभयो ।’ आकस्मिक कक्षमा स्वास्थ्यकर्मीले चलाएको औषधीले उनमा सुधार सुनुका सट्टा झन बिग्रिदै गएको र केही बेरमै ज्यान गएको उनको दाबी छ ।

मृतक सर्राफका आफन्त अरबिन्द कुमार सर्राफले पनि तराई अस्पतालको कम्पाउण्डरले इन्जेक्सन दिएको कारण मृत्यु भएको आरोप लगाए । अस्पतालको आकस्मिक कक्षमा चिकित्सक नभई कम्पाउण्डर मात्र थिए । उनीहरुले चलाएको गलत औषधिले विरामीको अवस्था चिन्ताजनक हुँदै तत्काल मृत्यु भएको परिवारजनले बताए ।

ग्यास्ट्रिटको औषधि चलाउनु पर्ने ठाउँमा अन्य रोगको थुप्रै औषधिहरु धमाधम दिइएको उनीहरुको भनाइ छ । आकस्मिक कक्षका कम्पाउण्डरहरुले डा.सुजित कुमार साहको हस्ताक्षर भएको लेटरप्याडमा औषधि लेखेर किन्न पठाएका थिए । विरामीलाई दिनुपर्ने औषधि नदिएर धमाधम बढी मात्रामा औषधि चलाएको कारण रक्तचाप उच्च भई मृत्यु भएको परिवारको दाबी छ ।

यता विरामीको उपचारमा खटिएका डा सुजित कुमार साहले ती विरामीको उपचारमा आफै खटेको र आफैले इन्जेक्सन लगाएको बताएका छन् । सर्राफलाई औषधि दिए पश्चात अचानक उनको रक्तचाप उच्च भई ब्रेन ह्यामरेज भई मृत्यु भएको हुनसक्ने डा। साहको भनाइ छ ।

सर्राफको मृत्यु भएसँगै आफन्तजनहरुले चिकित्सकको लापरवाहीकै कारण मृत्यु भएको भनेर विरोध गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहको नेतृत्वमा खटिएको सुरक्षाकर्मीहरु अस्पताल पुगेको थियो ।

यसैबी पीडित पक्षले जिल्ला प्रशासन कार्यालय पर्सामा घटना सम्बन्धमा छानविनको माग गर्दै उजरी दर्ता गराएका छन् । कार्यालयले छानविनको लागि नारायणी अस्पताललाई पत्रचारसमेत गरेको छ । नारायणी अस्पतालले चिकित्सकहरुको एक टोली गठन गरी छानविन अघि बढाउने जनाएको छ ।
मृतक सर्राफको बिहीबार नै नारायाणी अस्पतलमा पोस्टमार्टम भएपछि सोही दिन सांझ दाहसंस्कार समेत गरिएको छ ।

तर्रा अस्पतालको लापरवाहीले विरामीले ज्यान गुमाएको यो पहिलो घटना भने होइन । कोरोना महामारीको अवस्थामा पनि विरामी भर्ना नलिँदा कयौं विरामी अकालमा ज्यान गुमाएका थिए । अस्पतालको गेट बाहिरबाट नै विरामी फर्काउँदा उपचारको अभावले विरामीले ज्यान गुमाउन बाध्य भएका थिए ।

प्रकाशितः १७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्