दुई करोड नाघ्यो अमेरिकामा कोरोना संक्रमितको संख्या



एजेन्सी : अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । संक्रमितको संख्या २ करोड १ लाख २ हजार ५ सय ६७ पुगेको हो ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५ सय १७ संक्रमितको मृत्यु भइसकेको छ । अमेरिकामा १ करोड संक्रमित पुग्न २ सय ९२ दिन लागेको थियो भने जम्मा ५४ दिनमै १ करोड थपिएको हो ।

डिसेम्बरमा हालसम्मकै सर्वाधिक मृत्यु भएको बताइएको छ । उक्त महिनामा ७७ हजार ५ सय जनाको मृत्यु भएको तथ्यांक छ ।

अमेरिकामा हाल १ लाख २५ हजार ३ सय ७० कोरोनाका बिरामी अस्पतालमा उपचार गराइरहेका छन् । क्यालिफोर्निया राज्यका साथै लस एन्जलस काउन्टीमा संक्रमण दर बढ्दो रहेको बताइएको छ । केही साता यता यहाँ संक्रमण, मृत्यु तथा अस्पताल भर्ना हुने दर बढेको छ ।

यस्तै, जर्जियामा पनि मध्य नोभेम्बरयता अस्पताल भर्ना दर दोब्बर भएको बताइएको छ।

प्रकाशित : पुस १८, २०७७

प्रतिक्रिया दिनुहोस्