देशभक्त ओलीको व्यक्तित्व बढेको अरु कमरेडहरुलाई असह्य भयो : ईश्वर पोखरेल



काठमाडौं : उपप्रधानमन्त्रीसमेत ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तित्व बढेको नेकपाकै अरु नेतालाई असह्य भएको बताएका छन् ।

नेकपा (ओली समूह) राजधानी मजदुर विशेष जिल्ला कमिटीको आयोजनामा पुतलीसडकस्थित जिफन्टको प्रांगणमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘अरु कमरेडहरुलाई देशभक्त केपी ओलीको व्यक्तित्व बढेको असह्य भयो । त्यसैले उहाँहरु सधैं खिलाफमै लागिरहनुभयो ।’

कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका नेपाली भूमि फिर्ता गरेर ओलीले देशभक्तिपूर्ण काम गरेको र त्यो कामप्रति अन्य नेकपा नेताहरुलाई चित्त नबुझेको उनको टिप्पणी छ । ‘नेपाली भूमि फिर्ता लिएपछि केपी ओली कमरेडको व्यक्तित्व ह्वात्तै माथि पुग्यो । जुन, अरुलाई सह्य भएन’ पोखरेलले थपे ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति इङ्गित गर्दै पोखरेलले पार्टी भित्रैबाट असहयोग भएपछि ताजा ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीले गरेको उनले बताए ।

पोखरेलले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कसैले पनि हटाउन नसक्ने जिकिर पनि गरे ।
प्रकाशित : पुस १८, २०७७

प्रतिक्रिया दिनुहोस्