प्रचण्ड र माधवलाई ओलीले भने : दुई वटा झरेको फलले रुखै मै हुँ भन्ने ?



काठमाडौं : प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पार्टीबाट गएपछि नेकपा सही गतिमा अघि बढेको बताएका छन् ।

शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘समस्या कहाँ रहेछ ? खिया लागेको कहाँ रहेछ ? त्यो त प्रष्ट छ । दुई वटा खिया लागेका नटबोल्ट फुक्लिएपछि पार्टी गतिका साथ अघि बढेको छ । त्यो पनि हामीले फुकालेका होइनौं ।’

आफूलाई अध्यक्ष पदबाट हटाएको जानकारी प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा गराएको प्रशंग उल्लेख गर्दै भने, ‘मलाई प्रचण्ड र माधव नेपालले पार्टीबाट निकाल्ने रे ! यो कुरा सुनेर निर्वाचन आयोगका आयुक्तहरु कत्ति हाँसेहोला ।’

उनले थपे, ‘दुई वटा झरेको फलले रुखै मै हुँ भन्ने ?’ उनले आफूहरु स्वतः आधिकारिक भएको दाबी गर्दै भने, ‘जसको घर हो, जसको गाडी हो त्यसले यो मेरो हो भन्दै निवेदन हाल्न जान्छ ?’ ओलीले आफूहरुलाई निर्वाचन आयोगमा त्यस्ता निवेदन लिएर जान जरुरी नभएको बताए ।

पेरिसडाँमा १२-१५ जनाको भेला गरेर आफूलाई पदबाट हटाउन नसक्ने ओलीले बताए । उनले भने, ‘अलि अलिमान्छे त रत्नपार्कमा सिसीमा औषधी बेच्नेले पनि जम्मा गर्छ, उहाँहरुको हालत यही हो ।’ निर्वचनमा बहुमत ल्याउने दाबी गर्दै ओलीले बैशाख १७ र २७ ले पार्टीबाट कसले कसलाई निकालेको हो त्यो देखिने बताए ।

उनले प्रचण्डलाई अहिले पनि अध्यक्षमा राखिरहेको र माधव–झलनाथलाई पनि वरिष्ठ नेताकै दर्जामा राखिएको बताए । ‘प्रचण्डलाई अध्यमै राखिरहेका छौं, माधव र झलनाथलाई वरिष्ठ दर्जामा राखिरहेका छौं’ उनले भने, ‘मैले छनक पाइसकेको छु । उहाँहरु फर्किनुहुन्छ । तर, व्यक्ति फर्किएपनि अब प्रवृत्ति फर्कन दिइने छैन, गुबन्दी फर्कन दिइने छैन ।’

प्रचण्ड र माधवले ठूलो पद खोज्ने तर बाटो भने गलत रोज्ने गरेको ओलीले टिप्पणी गरे । उनले भने, ‘सुन्तला खानुपर्छ भने सुन्तलाको बगैँचातिर जानुपर्छ, सल्लाघारीतिर गएर हुन्छ ?’ तीन मिहनामा पार्टी एकता सक्ने योजनाका साथ एकता गरिएको भएपनि तीन वर्ष सम्म पनि एकताको काम सक्न नदिएको ओलीको आरोप छ ।

पार्टीले देशलाई अघि बढाउन महत्वपूर्ण काम गर्नुपर्ने भएपनि उल्टै पार्टीलाई गतिहीन बनाइएको, कार्यतालाई काम गर्न नदिइएको र असंगठित रुपमा राखि कार्यकर्तालाई हल न चलको स्थितिमा पु¥याइएको उनले बताए ।

प्रचण्ड र माधवको उद्देश्य संविधान र लोकतन्त्रको रक्षा नभएको टिप्पणी गरे । देशको विकास हुँदा, देशको नक्सा छापिँदा आपत्ति भएको उनले बताए । उनले अब पार्टीलाई सुदृढ, एकीकृत र व्यापक बनाउँदै आधी तुफानसरी अघि बढाउने बताए ।

प्रचण्ड–माधव पक्षको ध्यान अहिले बैंकमा राखेको पैसामा भएको पनि टिप्पणी गरे ।

प्रकाशित : पुस १८, २०७७

प्रतिक्रिया दिनुहोस्