३९ सांसदमध्ये ३० जना प्रचण्ड-माधव समूहमा, ६ जना ओली, ३जना मौन



काठमाडौं :नेकपा सुदूरपश्चिममा नेकपाको प्रचण्ड-माधव समहूको बलियो पकड देखिएको छ ।

नेकपाको आज बसेको प्रदेश संसदीय दलको बैठकमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कमदविरुद्ध हस्ताक्षर गर्दै ३० जनाले आफ्नो कित्ता क्लियर गरेका हुन् ।

नेकपाका कुल ३९ सांसदमध्ये ३० जना पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहमा देखिएका छन् भने ६ जना ओली पक्षका र तीन जना मौन छन् ।

आजको बैठकले तीन वटा निर्णय पारित गरेको छ । बैठकले प्रधानमन्त्रीको कदमविरुद्ध विरोध र प्रचण्ड–माधव समूहलाई समर्थन गर्ने गरी तीन वटा निर्णय गरेको हो ।

उक्त निर्णयको समर्थन र विरोधपछि सुदूरपश्चिम प्रदेश सभामा तीन जना बाहेक ३६ जना प्रदेश सभा सदस्यहरूको कित्ता क्लियर भएको छ ।

बैठकमा उपस्थित भएका ६ जना प्रदेश सभा सदस्यहरूले संसद् विघटन गर्ने सरकारको निर्णय विरुद्ध विरोध गर्ने विषयमा हस्ताक्षर गरेनन् ।

ओली पक्षका प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, महेशदत्त जोशी, नेपालु चौधरी, रतन थापा र ग्याल्बु सिंह बोहराले भने बैठकमा रेडिमेड निर्णय भएको भन्दै त्यसको विरोध गरेका छन् ।

बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम रावलको समेत उपस्थिति थियो । ३९ जना प्रदेश सभा सदस्यमध्ये आज प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा भने काठमाडौंमा रहेका कारण उपस्थित भएका थिएनन् ।

उनले आफ्नो कित्ता समेत खुलाउन सकेका छैनन् । यद्यपि उनलाई केपी ओली समूहले केन्द्रीय सदस्यमा मनोनीत गरिसकेको छ । उनले त्यसलाई समेत खुलेर स्वीकार गरिसकेका छैनन् । प्रदेश संसदीय दलमा भएको यो जोडघटाउपछि सुदूरपश्चिम सरकार नढल्ने निश्चितप्रायः देखिएको छ ।

प्रकाशितः १८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्