प्रचण्ड-माधवको साथ छोडेर ओलीतिर लागे संसद न्यौपाने



काठमाडौं : लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने प्रचण्ड-माधव समूह छोडेर ओली समूहमा लागेका छन् । माओवादी पृष्ठभूमिबाट आएका उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापतिसमेत हुन् ।

रुपन्देही–१ बाट निर्वाचित उनी एक साताअघि प्रचण्ड–नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी भएका थिए ।

शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि भन्ने लागेर प्रचण्ड–नेपाल समूहको भेलामा गएको तर अध्ययन गर्दै जाँदा ओलीको कदम सही लागेको उनले प्रतिक्रिया दिए । विचार र दृष्टिकोणमा दुबै समूहमा फरक नभएको उनले बताए ।

प्रचण्ड–नेपाल समूहका नेताहरुले भने मन्त्री बनाउने आश्वासन पाएर न्यौपाने ओली समूहमा लागेको आरोप लगाएका छन् । ‘धेरैलाई मन्त्रीको लोभ देखाइएको छ । त्यही भएर उहाँ असंवैधानिक कदम चाल्नेहरुको पक्षमा लाग्नुभयो’ एक नेताले भने ।

मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका हुन् । ८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशमा आफ्नो सरकार टिकाई राख्न उनलाई कम्तिमा ४४ सांसद चाहिन्छ ।

प्रकाशितः १८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्