
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहको नेकपालाई ‘हामी यहाँ छौं’को सट्टा ‘म यहाँ छु’ लेख्नुपर्ने सुझाव दिएका छन् ।
आइतबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा ओली पक्षीय नेकपाले आयोजना गरेको विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई व्यंग्य गर्दै सो सुझाव दिएका हुन् ।
संसद विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सडकमा बसेर प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए ।
काठमाडौंको माइतीघर मण्डलामा बस्ने क्रममा ‘हामी यहाँ छौं’को सट्टामा ‘म यहाँ छु’ लेख्नुपर्ने उनको कटाक्ष थियो ।
प्रधानमन्त्रीले भने, ‘मरेकोलाई उपियाँले छोडेजस्तै तपाईंहरुलाई पनि सबैले छोड्नेछन् । तपाईंहरू एक्लै हुनुहुनेछ ।’
यसैगरी सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिएका छन् । उनले मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाका जवाफ दिएर आएको बताएका हुन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले गएको वैशाख १३ देखि पुस ४ गतेसम्म खुमलटारमा मात्रै पार्टी फुटाउन २८० वटा बैठक बसेको दाबी गरेका छन् । उनले आफूले आइतबार बिहान मात्रै रेकर्ड हेर्दा सो तथ्यांक पाएको बताए ।
‘३५ वटा बैठक बाहिर बसेका रहेछन् । कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेज, कहिले अगेनाको डिल, कहिले अर्याल होटल, कहिले कसको घर त कहिले कसको घर,’ उनले भने ।
उनले यसरी बसेका जम्मा ३१५ वटा बैठक नेतृत्वलाई खुइल्याउने र सरकारलाई बदनाम गराउनेमा केन्द्रित भएको आरोप लगाए । ‘खुद्रा मसिना बैठकको हिसाब छैन,’ उनले भने ।
यसैगरी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई अहिले पनि कुर्सी खाली भएकाले पुनः पार्टीमा आउन आग्रह गरेका छन् ।
‘आउनुस्‚ कुर्सी यथावत् राखिएको छ । आउनु भएन भने पनि यो अभियान अघि बढ्छ‚’ ओलीले भने‚ ‘पिलो निचोरिँदैमा ओजन घटेको हुँदैन। अझ मजबुत भएर आन्दोलन अघि बढ्छ ।’ अब सुखी नेपाली र समृद्ध नेपालको यात्रा नरोकिने उनले बताए ।
प्रकाशित : पुस १९, २०७७