सञ्चालनमा आइसकेको हल खुला गर्ने सीसीएमसीको निर्णय



काठमाडौं : गत वर्षको चैतदेखि बन्द रहेको सिनेमा हल खुलेको एक सातापछि कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय समिति (सीसीएमसी)ले हल खुला गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको समितिको बैठकले आवश्यक परेको अवस्थामा फेरि बन्द गर्न सकिने अधिकारसहित हल खुला गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव महेन्द्रप्रसाद गुरागाइँले बैठकको निर्णय सुनाउँदै पुनः रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने बताएका हुन् ।

सचिव गुरागाइँका अनुसार हल खुलिसकेपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको अनुगमन गर्ने र पालना नभएको खण्डमा कारबाही गर्ने निर्णय भएको छ ।

तर, नेपाल चलचित्र संघले यही पुस १० गतेदेखि नै हल सञ्चालनमा आइसकेको थियो ।

कोरोना महामारीका कारण बन्द रहेका सबै क्षेत्र खुलिसक्दा पनि सरकारले हल खोल्न नदिएको भन्दै संघको एकल निर्णयमा पुस १० गतेदेखि नै हल सञ्चालनमा आएको थियो ।

प्रकाशित : पुस २०, २०७७

प्रतिक्रिया दिनुहोस्